निरोज ढकाल , २३ पटक हेरिएको
बंगलादेशजस्तो अवस्था नहोस् भनेर धैर्यका साथ काम गरिरहेका छौँ : सुशीला कार्की
प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई बंगलादेशजस्तो अवस्थातर्फ जान दिन नहुने स्पष्ट अभिव्यक्ति दिएकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले देशलाई अस्थिरता र अराजकतामा धकेलिन नदिन सबै सचेत हुनुपर्ने बताइन्।
प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारलाई ‘अचानो’सँग तुलना गर्दै राजनीतिक दलहरू र जेन–जी (Gen-Z) समूहबाट दिनदिनै सरकार छोड्न दबाब आउने गरेको गुनासो गरिन्। उनले अहिले सरकार चारैतिरबाट आलोचना र गालीको चपेटामा परेको उल्लेख गर्दै त्यसका बाबजुद धैर्यका साथ जिम्मेवारी निर्वाह गरिरहेको बताइन्।
“युवामाझ निर्वाचन किन चाहियो भन्ने भाषा पनि सुनिन थालेको छ। अहिले जहाँ गयो त्यहीँ असहज अवस्था छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “२५–३० वटा जेन–जी समूह छन्, एकले एउटा काम भन्छ, अर्कोले अर्कै। तर हाम्रो एउटै लक्ष्य छ—देश बंगलादेश नहोस्।”
प्रधानमन्त्री कार्कीले सरकारमाथि राजनीतिक दल, आन्दोलनरत समूह र जेन–जी सबै पक्षबाट निरन्तर दबाब र आलोचना आइरहेको बताइन्। “हामी अचानो जस्तो भएका छौँ। दलले पनि गाली गर्छन्, आन्दोलनले पनि गाली गर्छ। आजै छोड, भोलि छोड भनेर दबाब आउँछ,” उनले भनिन्।
उनले सरकार छोडेपछि पनि फेरि आलोचना हुने अवस्थाको उदाहरण दिँदै भनिन्, “छोड्यौँ भने भोलिपल्ट नै ‘थुक्क, पालो दिएको थियो, के गर्यौ?’ भन्ने भाष्य आउँछ। हामी त पेण्डुलम जस्तै भयौँ।”
प्रधानमन्त्री कार्कीले यस्तो कठिन परिस्थितिमा पनि सरकार धैर्य, मेहनत र जिम्मेवारीका साथ अघि बढिरहेको बताउँदै सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरिन्। उनले देशलाई अस्थिरता र अराजकताबाट जोगाउन सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिइन्।
प्रकाशित मिति: २०२५-१२-२६ , समय : १६:२७:११ , ४ घन्टा अगाडि