प्रशान्त निरौला , २१४ पटक हेरिएको
लेटाङ, १४ मंसिर। मोरङको लेटाङ वडा नं. १ साग्मा छालटानेका कृषक टंक राईसहितका किसानहरू सुन्तला खेतीमा देखिएको समस्याले निराश भएका छन्। तीन वर्षअघिसम्म लाखौँ आम्दानी दिने सुन्तला खेती अहिले पूर्ण रूपमा तहसनहस भएको छ। कीरा र रोगको प्रकोपका कारण बगैंचाहरू उजाड बनेका छन् भने प्राविधिकहरूले समेत समाधान दिन नसक्दा किसानहरूको निराशा थपिएको छ।
कृषक टंक राईले सुन्तलाका बोटमा पटक–पटक उपचार गरे पनि समस्याको हल हुन नसकेको बताएका छन्। “केही उपायले काम गरेन, तीन वर्षदेखि एक गेडा पनि फल्न सकेको छैन,” उनले दुःखेसो गरे। स्थिति यस्तो छ कि सुन्तला फल्ने बेलामा पनि फलफूलको सट्टा रुखहरू ओइलाएर सुक्दै गएका छन्।
भोगटेनी छालटानेका अन्य किसानहरू समेत यस्तै समस्याले जुधिरहेका छन्। कहिलेकाहीँ थोरै फल लागे पनि बजारमा बिक्रीयोग्य हुन सकेको छैन। यसअघि लाखौँ रुपैयाँ आम्दानी गर्ने सुन्तला अहिले एक रुपैयाँको पनि मूल्य पाउन नसक्ने अवस्थामा पुगेको छ।
यस समस्याले किसानहरूलाई मात्र नभई स्थानीय अर्थतन्त्रमा पनि गम्भीर प्रभाव पारेको छ। यस्तो अवस्थामा स्थानीय सरकार र सम्बद्ध निकायले तदारुकता देखाउँदै समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ। सुन्तला खेतीको संरक्षण र पुनरुत्थानका लागि प्रभावकारी प्राविधिक सहायता, रोग नियन्त्रणका उपाय, र राज्यस्तरबाट आवश्यक अनुदानको व्यवस्था गरिनु अत्यावश्यक छ।
यो समस्या समाधानका लागि राज्य र सरोकारवालालाई झकझक्याउन आवश्यक छ। किसानहरूको मेहनतले व्यर्थ नजाओस् भन्नका लागि तत्काल प्रभावकारी कदम चालिनु पर्छ। यसले मात्र किसानहरूको आशा बचाउन सकिनेछ।
प्रकाशित मिति: २०२४-११-२९ , समय : ०१:१४:१६ , १२ महिना अगाडि