ईनेपालपत्र , १९८ पटक हेरिएको
लेटाङ, १२ मंसिर। लेटाङ नगरपालिकाले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागबाट आवश्यक अनुमतिपत्र प्राप्त गरेको छ। अनुमतिपत्र प्राप्त भएसँगै अब लेटाङ क्षेत्रका सर्पदंश पीडितहरूले तत्काल उपचार सेवा पाउने सुनिश्चितता भएको छ।
वि.सं. २०६७ साल असोज २५ गतेदेखि नेपाली सेनाको प्राविधिक सहयोगमा लेटाङमा सर्पदंश उपचार सेवा सञ्चालनमा आए पनि अनुमतिपत्रको अभावमा थप सहयोग रोकिएको थियो। यस परिस्थितिलाई मध्यनजर गर्दै लेटाङ नगरपालिकाले सम्पूर्ण मापदण्ड पूरा गरी आवश्यक पहल गरेको थियो। नगरप्रमुख भुपेन्द्र कुमार लावतीको नेतृत्वमा स्वास्थ्य सेवा विभागसँग समन्वय गर्दै सर्पदंश उपचार केन्द्रको अनुमति प्राप्त गर्न सफल भएको हो।
अब केही दिनभित्रै केन्द्रले पूर्ण रूपमा सेवा प्रदान गर्न थाल्नेछ, जसले सर्पदंशका कारण हुने मृत्यु दरलाई न्यून गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। सर्पदंश उपचार केन्द्रको सन्चालनले लेटाङ मात्र नभई आसपासका क्षेत्रका नागरिकहरूलाई जीवनरक्षाको भरपर्दो विकल्प प्रदान गर्नेछ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रमा यो नयाँ कदमलाई सफलताका रूपमा लिएको छ र यसले सर्पदंश पीडितहरूलाई समयमै उपचार सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।
प्रकाशित मिति: २०२४-११-२७ , समय : १०:२२:१४ , १ वर्ष अगाडि