enepalpatra , २९३ पटक हेरिएको

कानेपोखरी(मोरङ) १३ फागुन । मोरङको कानेपोखरी गाउँपालिकाका किसानलाई यति बेला गुन्द्रुक भित्राउने चटारो छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा ‘आमाको सीप सन्तानलाई अर्गानिक गुन्द्रुक मोरङलाई’ कार्यक्रम सञ्चालन गर्न ७ लाख ५० हजार रुपियाँ छुट्याएको थियो ।
सोही कार्यक्रम अन्तरगत पालिकाका १८ जना किसानले १२२ कट्ठा (६ बिगाहा २ कट्ठा) जमीनमा गुन्द्रुक उत्पादन गर्ने प्रयोजनका लागि तोरी लगाएका थिए । मङ्सिर पहिलो साता तोरी छरेका किसानले यतिबेला खाल्डोबाट गुन्द्रुक निकालेर घाममा बिस्कुन लगाएका छन् । गाउँपालिकाले किसानको उत्पादन प्रतिकिलो एक हजार रुपियाँमा खरिद गरिदिने भएको छ । गाउँपालिका अधयक्ष राजमति इङ्नामले भन्नुभयो–‘संसारमा नेपालीले मात्र खाने परम्परागत गुन्द्रुक समेत चीनबाट आउने गरेको तथ्याङ्क पत्रपत्रिकामा पढेपछि हामीले गुन्द्रुक आयातलाई निरुत्साहित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौं । पहिलो पटक भएकोले केही नयाँ कुरा सिक्न पायौं ।’ खाली खेतमा असोज मै तोरी लगाएको भए एकै सिजनमा तीन पटक सम्म उत्पादन लिन सकिने रहेछ – उहाँले आगामी वर्ष अझ ब्यवस्थित तरिकाले गुन्द्रुक उत्पादनमा लाग्ने बताउनु भयो ।
ब्यावसायिक रुपमा गुन्द्रुक उत्पादन गर्ने किसान पनि उत्साही रहेका छन् । कानेपोखरी –२ मैनाबारीकी भगवती बरालले भन्नुभयो – २ कट्ठामा तोरी छरेर गुन्द्रक हालेको थिएँ । असाध्यै राम्रो थियो तर, हुस्सुुका कारण सुकाउनलाई समस्या भयो । सुकाउने ब्यवस्था राम्रो हुने हो भने एकै सिजनमा दुई/तीन पटक गुन्द्रुक निकाल्न सकिने रहेछ । बरालले ८ देखि १० किलो गुन्द्रुक उत्पादन हुने बताउनु भयो । सोही गाउँकी बिमला रायाले ४ कट्ठामा तोरी छर्नुभएको थियो । उहाँले मौसमले राम्रो साथ दियो । बिमलाले भन्नुभयो–१५ किलो जति तुल्याउन सक्छु भन्ने लागेको छ ।
गाउँपालिकाले जोत्ने खर्च, प्राङ्गारिक मल र बीउ उपलब्ध गराएको थियो । सामान्यतया तोरी फल्न ९० देखि ९५ दिन लाग्ने गर्छ । गुन्द्रुकका लागि ३० देखि ३५ दिनमा साग टिपेर सुकाउन सकिन्छ । गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत सनतोष घिमिरेले भन्नुभयोे –‘यो वर्ष हाम्रा किसानले एकपटक मात्र साग टिपेर गुन्द्रुक हाल्न सक्नुभयो । २ कट्ठामा जति तोरी उत्पादन लिन सकिन्थ्यो , गुन्द्रुुकबाट त्यति मै मुल्य बरावरको उत्पादन लिन सकिएन । तर, अर्को वर्ष देखि तीनपटक साग टिपेर गुन्द्रुक हाल्ने गरी ब्यवस्था मिलाइने छ । नयाँ प्रयोग भएकोले केही समस्या उत्पन्न भएको घिमिरेको भनाई छ । पालिकाका कृषि शाखा प्रमुुख सागर पौडेलले भन्नुभयो–२ कट्ठा देखि २ बिगाहा क्षेत्रफलमा गुन्द्रुुक उत्पादन प्रयोजनका लागि किसानले तोरी लगाउनु भएको थियो । धेरै क्षेत्रफलमा गर्दा परिणाम सन्तोष जनक आएको छैन् ।त्यसैले अझ बढी किसान सहभागि गराएर सानो सानो इकाईमा तोरी छर्नुपर्ने अनुभव भएको छ । पौडेलका अनुसार हाल तुल्याइएको गुन्द्रुकका आधारमा ६ बिगाहा २ कट्ठामा २३० किलो गुन्द्रुक उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित गुन्द्रुक पालिकाले किसानसँग प्रतिकिलो १ हजार रुपियाँका दरले खरिद गरिदिने भएको छ ।
गुन्द्रुक पालिकाले खरिद गरिसकेपछि ब्राण्डिङ गरेर ब्यापारका लागि पठाइने छ । पालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले भन्नुभयो–‘अब पालिकामा आउने अतिथिलाई कानेपोखरी गाउँपालिकाले अर्गानिक गुन्द्रुक उपहार दिनेछ ।
प्रकाशित मिति: २०२३-०२-२५ , समय : १२:११:२४ , २ वर्ष अगाडि