विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान जारी

ईनेपालपत्र समाचारदाता , ४०८  पटक हेरिएको

विराटनगर ,२४ पुस। विराटनगर महानगरको ट्राफिक व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले महानगरलाई प्रतिवेदन बुझाएको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा समितिले ९ बुँदे प्रतिवेदन बुझाएको छ । महानगर प्रहरी प्रमुख राजन पौडेलको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार कार्की र महनगरको राजस्व महाशाखाका अधिकृत सुशील दाहाल सदस्य रहनेगरी महानगरले गत मंसिर १९ गते अध्ययन समिति गठन गरेको थियो । अध्ययन समितिको प्रतिवेदनका आधारमा आइतबार नै बसेको यातायात व्यवस्थापन समितिको बैठकले पार्किङ व्यवस्थापन गर्ने निर्णय गरेको छ । समितिले विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको पुरानो गुद्री र ए–प्लटसहित मुख्य बजार क्षेत्रका विभिन्न स्थानमा पार्किङ गर्न सकिने भनेर बुझाएको प्रतिवेदनलाई समितिको बैठकले अनुमोदनसमेत गरेको छ । मुख्य बजारभित्र खाली रहेका निजी जग्गालाई समेत पार्किङका लागि प्रयोग गरिने भएको छ । त्यसका लागि महावीर रोड उत्तर तथा शनिमन्दिर पूर्व दक्षिणस्थित मास्के परिवारको नाममा रहेको जग्गामा पार्किङ व्यवस्थापनका लागि महानगरले सम्झौता गरिसकेको छ । त्यस्तै विभिन्न ठाउँमा रहेका प्रयोगविहीन खाली जग्गामा पार्किङ व्यवस्थापनका लागि सम्बधित जग्गाधनीसित सम्झौता प्रक्रिया अगाडि बढिसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो । सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरका मेयर कोइरालाको योजनालाई कार्यान्वयन गराउन सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहाल र महानगर प्रहरी प्रमुख राजन पौडेलले सक्रिय भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो ।
महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा वडा प्रहरी कार्यालयका प्रमुख दीपेन्द्र पञ्जियार थारु, महानगरको राजस्व महाशाखा प्रमुखसमेत रहेका समितिका सदस्यसचिव सरोज गौतम, उद्योग संगठन मोरङका प्रमुख प्रशासकीय अधिकृत (सिईओ) चूडामणि भट्टराई, विराट व्यापार संघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुले विराटनगरको ट्राफिक व्यवस्थापनमा सबै किसिमको सहयोग रहने प्रतिबद्धता जनाएका थिए । त्यसैगरी सोही बैठकले पार्किङका लागि शुल्कसमेत तोकेको छ । समितिका अनुसार मोटरसाइकल पार्किङबापत प्रति ३ घन्टासम्मका लागि १० रुपैयाँ र चारचक्केका लागि प्रति ३ घन्टा २० रुपैयाँका साथै ठूला सवारी साधनका लागि ५० रुपैयाँ लाग्नेछ । समितिको बैठकले व्यापारीहरुलाई समस्या नहोस् भनेर मासिक लिनेगरी शुल्क निर्धारण गरिएको छ । मासिक रुपमा बुझाउन चाहनेलाई दुईचक्केका लागि ५ सय र चारचक्केका लागि १ हजार तोकिएको छ ।

प्रकाशित मिति: २०२३-०१-०८ , समय : १९:११:२८ , ३ वर्ष अगाडि