१६ वटा प्लेनका मालिकले खोले मोरङको डाँगिहाटमा राईस मिल

ईनेपालपत्र , ३९१  पटक हेरिएको

बेलबारी, ११ अशोज। नेपाली हवाई उड्डयन क्षेत्रमा सफल परिचय बनाई सकेका बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत वायुसेवा क्षेत्र सँगसँगै नेपाली कृषि क्षेत्रमा पनि सफल बन्ने प्रयासमा छन् ।

१६ वटा निजी जहाजका मालिक बस्नेत हिजोआज कृषक सँगै खेतबारीमै भेटिन्छन् । मोरङको बेलबारी ९ स्थित बस्नेतले २०६९ सालमा नै ‘नेपाल कृषि कम्पनी स्थापना गरेका थिए । पछि २०७७ सालमा नाम परिवर्तन गरेर हाल नेपाल कृषि केयर मार्फत उहाँको कृषि फर्म संचालनमा रहेको छ । फर्म क्षेत्र सँगै आरजु राइस मिल संचालनमा आउने तयारीमा रहेको छ । अत्याधुनिक उपकरणयुक्त मिल स्थापनाका लागि झन्डै ५० करोड रुपैयाँ लगानी भइसकेको र उक्त धान मिल मङ्सिर महिनादेखि सञ्चालनमा आउने मिलका जेनरल मेनेजर विवेकनन्द झा ले बताए ।

मिलले मोरङका विभिन्न ठाउँबाट कृषकले उत्पादन गरेको धानलाई कात्तिक महिना देखी खरिद गर्न सुरु गर्ने झाले बताए । उक्त मिलमा अहिले उपकरण जडानको कार्य अन्तिम चरणमा भइरहेको छ । कृषक सँग धान आरजु राइस मिलले सिधै खरिद गर्ने छ । मिलले मोरङ र आसपास जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरिद गरी त्यसलाई स्वदेशी ब्रान्ड दिएर नेपाली बजारमा पठाउने लक्ष्य राखेको मेनेजर झा बत्ताउँछन् । मिलको कुल क्षमता २० हजार टन वार्षिक रहेकोले हिउँदे धानमा करिब ४ हजार बिघा तथा चैते धानमा १२ सय बिघा का किसान लाई सहभागी गराउने लक्ष्य रहेको छ ।

हाल उक्त फर्ममा दर्जन भन्दा धेरै प्रजातिका धान बाली परीक्षणका लागि लगाइएको छ । जसमा बांग्लादेश बाट ल्याइएको विआरआरआई ७५, विआरआरआई ५, रबी धान, बिना धान पाकिस्तान बाट ल्याइएको सुपर बासमती, चिनाव, किसान बासमती तथा पन्जाब बासमती भारतबाट ल्याइएको पूषा बासमती १६९२, पूषा बासमती ७, मुच्छड बासमती, पिआर १२, मराठी जिरा, पिआर आई १२६ र नेपाली धानमा पहाडे बासमती, हार्दिनाथ हाइब्रिड १, बहु गुणी १ आदि उन्नत जातका लगाइएको जेनरल मेनेजर विवेकनन्द झाले जानकारी दिए ।आरजु राइस मिलले धान भण्डारणमा पनि ठुलो लगानी गरेको छ । भण्डारण गर्ने ढ्वाङहरू साढे ३ हजार मेट्रिक टनका छन् त्यहाँ सबैभन्दा ठुलो लगानी प्रविधिमा गरिएको छ ।स्थानीय स्तरमा यति ठुलो लगानीमा राईस मिल खुलेकोले कृषकहरू साथै स्थानीय हर्षित रहेको बेलबारी ९ का वडाध्यक्ष सालिकराम बस्नेत बत्ताउँछन् ।

मिल खुले सँगै कृषकले धानको उचित मूल्य पाउने भएपछि आफू लगायत सिङ्गो नगर हर्षित रहेको वडाध्यक्ष बस्नेत बताउँछन् ।

प्रकाशित मिति: २०२२-०९-२७ , समय : ०६:२३:३० , २ वर्ष अगाडि