ईनेपालपत्र , ६९४ पटक हेरिएको
झापा, २६ भदौ । २ दिनको बीचमा झापामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ।घटना शनिबार र आइतबार भएको हो। खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनीहरूको मृत्यु भएको झापा प्रहरीले जनाएको छ। घटना छुट्टाछुट्टै ३ स्थानमा भएका हुन् ।
बुद्धशान्ति गाउँपालिका ३ मा रहेको कुलोको करेन्ट लगाई माछा मार्ने क्रममा पाँचथर याङबरक गाउँपालिका ६ का ३२ वर्षीय कमल बराइलीको मृत्यु भएको हो। उनी बुद्धशान्ति २ मा रहेका आफन्तको घरमा बस्दै आएका थिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउनासाथ मृत्यु भएको हो ।
त्यसैगरी हल्दीबारी गाउँपालिका–५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाएर माछामार्ने क्रममा हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै मेचीनगर नगरपालिका ५ हडिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा ४७ वर्षीया सन्त चौधरीको मृत्यु भएको छ। करेन्ट लाग्दा घाइते भएका मेचीनगर नगरपालिका ११ धाइजनका चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
तीनवटै घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। खोलामा करेन्ट प्रवाह गरेर माछा मार्न रोक लगाइएको छ। तर, यो क्रम नरोकिँदा अनाहकमा मानिसले ज्यान गुमाइ रहेका छन् ।
प्रकाशित मिति: २०२२-०९-११ , समय : १६:०९:५० , ३ वर्ष अगाडि