चट्याङ लागेर २४ घण्टामा ६ जनाको मृत्यु, ४ जना गम्भीर

enepalpatra , ३४९  पटक हेरिएको

काठमाडौं १५ असार। चट्याङ लागेर २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा चट्याङ खसेको सूचना आइरहेको छ ।

यही क्रममा बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

 

थारुसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते हुनुभएको छ । उहाँको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी बागलुङमा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो ।

पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

यस्तै अविरल वर्षाका कारण आएको पहिराले गए राति गलकोट नगरपालिका–११ रिघास्थित कृष्णबहादुर कामीको घर पुरिएको छ । तीनतले कच्ची घर पहिरोले पुरिएको हो । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा मात्र चार जनाको मृत्यु भएको छ। कैलालीमा दुई र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

खेतमा रोपाइँ गरिरहेका वेला चट्याङ लागेर कैलालीको कैलारी गाउँपालिका–१ का ५६ वर्षीया सुगापङ्खी र गोदावरी नगरपालिका–३, मालाखेतीका ४८ वर्षीय पुनाराम चौधरीको मृत्यु भएको हो। पुनाराम कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का बासिन्दा हुनुहुन्छ ।

प्रकाशित मिति: २०२२-०६-२९ , समय : ११:३०:४३ , ४ वर्ष अगाडि