राज्य पुनर्संरचनाको खिल्ली उडाउँदै सरकारी र गैर सरकारी संस्था

हरिप्रसाद कोइराला , ६०५  पटक हेरिएको

उर्लाबारी,बैशाख ८ गते । संविधान अनुसार राज्य पुनर्संरचना भई तीन वटै तहको निर्वाचन भएको ५ वर्ष पुग्नै लाग्दा पनि कतिपय सरकारी, गैर सरकारी, नीजि तथा सामूदायिक संस्थाहरूले अझै आफ्नो संस्थाको बोर्डमा नयाँ ठेगाना राखेका छैनन् ।

सरकारी कोषबाट सञ्चालन खर्च प्राप्त नहुने संस्था मात्र होइन । वार्षिक करोडौं रुपियाँको आर्थिक कारोवार र लाखौं रुपियाँ सञ्चालन खर्च गर्ने सरकारी र सामूदायिक संस्थाले समेत पुनर्संरचनाको खिल्ली उडाएका छन् । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाको मुख्य प्रवेश द्वारमा नै हालसम्म मधुमल्ला गाविस लेखिएको छ । राज्य पुनर्संरचना पछि तत्कालिन मधुमल्ला गाविसको कार्यलयमा मिक्लाजुङ गाउँपालिका कार्यलय बसिरहेको छ । करोडौंको भवन र पुनर्निर्माण गर्ने रकम पुग्दा बोर्ड फेर्न भने गाउँपालिकाले वास्ता गरेको छैन् ।

मोरङ कै गोविन्दपुर गाविस कार्यालयमा हाल रतुवामाई नगरपालिकाको वडा नं. ५ को कार्यालय रहेको छ । वडाले वार्षिक ७५ लाखको बिकास बजेट बनाउँछ । तर, प्रमुख गेटमा‘रतुवामाई नगरपालिका वडा नं.५ को कार्यालय गोविन्दपुर’लेख्ने खर्च वडा कार्यालयलाई पुगेको छैन ।

गाउँपालिका र वडा कार्यालय मात्र होइन । मोरङको कानेपोखरी–५ ,भौंसावारी स्थित रमाइलो बहुमुखी क्याम्पसको मुल गेटमा नै ठेगाना परिवर्तन गरिएको छैन् । क्याम्पस प्रमुख टीकाराम खरेलले भन्नुभयो– सडक पश्चिम सर्ने भएपछि गेट ढल्ने भयो । त्यसैले किन खर्च गर्ने भनेर नयाँ बोर्ड नराखेको हो । तर, ६ वर्ष बितिसक्दा पनि न सडक स¥यो न गेट ढल्यो । मोरङ कै कानेपोखरी –४ हात्तीडुब्बाको सूर्योदय आधारभूत बिद्यालयले पनि बोर्ड फेर्न सकेको छैन । विद्यालयका प्रधानाध्यापक गङ्गाराम अधिकारीले भन्नुभयो– ‘साना तर महत्वपूर्ण काममा ध्यान नपुगेकै हो । अब एक साता भित्र बोर्ड फेरिने छ ।’

साविक बाहुनी ९ को गौथली चौकमा रहेको सिंहदेवी सामूदायिक वन उपभोक्ता समूहले पनि बोर्ड फेर्न भ्याएको छैन । बाहुनी ९ हाल बेलबारी नगरको वडा नं.१० मा पर्छ । सामूदायिक वनले बार्षिक ४०लाख माथिको कारोवार गर्छ । तर,सामान्य विषयमा वन पदाधिकारीको ध्यान पुगेको छैन् । उता मिक्लाजुङ–३ को कालिदह खानेपानी तथा सरसफाइ आयोजनाले आफ्नो बोर्डबाट टाँडी –८ हटाएको छैन । मिक्लाजुङ –३ टाँडी लेख्दा फरक पर्दैनथ्यो । तर, कसैको ध्यान पुगेको छैन्। स्थानीय एक उपभोक्ताले भन्नुभयो ।

मोरङका अधिकांश गाउँ तथा नगरपालिकाका सहकारी, सामूदायिक बन, विद्यालय र नीजि संस्थाले बोर्ड परिवर्तन नगर्दा आगन्तुकहरू भने अल्मलिने गरेका छन् । गुगलमा समेत नयाँ ठाउँका नाम आउन थालेका छन् । तर, स्थानीय संघ,संस्थाहरूले बोर्ड फेर्न भ्याएका छैनन् । जसले गर्दा मोरङ बाहिरबाट आउने जो कोही अल्मलिने गरेका छन् ।
वोर्ड नफेरिएका फोटो पठाएको छु ।

प्रकाशित मिति: २०२२-०४-२३ , समय : १२:१८:३१ , ४ वर्ष अगाडि