महिला उद्यमीलाई अनुदानमा दुग्ध ट्याङ्कर

Enepal Patra Pvt. Ltd. , ६९५  पटक हेरिएको

खलङ्गा, २६ फागुन । जुम्लाका महिला उद्यमीको सहजका लागि जिल्लास्थित पशु सेवा कार्यालयले अनुदानमा ट्याङ्कर उपलब्ध गराएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्याङ्कर उपलब्ध गराएपछि अब दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको छ । एक हजार लिटरसम्म दूध बोक्नसक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो ।

दुग्ध ट्याङ्करले यहाँको दूध उत्पादन बढाउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । रु ३२ लाख ९५ हजार मूल्यको ट्याङ्कर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएपछि किसान निकै उत्साहित भएका छन् । सञ्चालक धितालले भन्नुभयो,“अब किसानले दूध बोकेर बजारसम्म दूध पु¥याउन दुःख गर्नुपर्दैन । मगाएको खण्डमा घरदैलोमै दूध सङ्कलन गरेर बजारसम्म ल्याउन ट्याङ्कर तयारी अवस्थामा छ ।

अहिले नाग्म, कुडारी, लाम्रा गाउँ र बजार क्षेत्रका दूध ट्याङ्करबाट डेरीमा सहजै दूध पु¥याउने काम भइरहेको छ । सदरमुकाम खलङ्गाभित्र र बाहिरका नौवटा डेरीमा दूध पुग्ने गरेको उहाँको भनाइ थियो । ट्याङ्कर पुगेपछि अहिले १० जनाले रोजगारी पाएका छन् । एक महिनामा झन्डै रु छ लाख बराबरको दूध बिक्री हुने गरेको हिमाली डेरी उद्योगले जनाएको छ ।

कार्यालय प्रमुख गोविन्द महतका अनुसार पछिल्लो समय किसान दूध उत्पादनमा हौसिएका छन् । ट्याङ्कर खरिद जुम्लाका लागि नयाँ कार्यक्रम भएको र यसबाट दूध उत्पादक किसान र डेरीसँगको समन्वय निकै प्रगाढ बनाउने छ । दूध बिक्री भएन भन्ने किसानको गुनासो आउने छैन । सदरमुकाम खलङ्गामा पाँचवटा डेरी उद्योग सञ्चालनमा छन् । बजार विस्तार भएसँगै दूधको माग पनि अत्यधिक हुने गरेको यहाँका डेरी उद्योगका सञ्चालकले बताए ।

प्रकाशित मिति: २०२२-०३-१० , समय : १२:०६:५१ , २ वर्ष अगाडि