पच्चिस हजार बालबालिकालाई खोप

Enepal Patra Pvt. Ltd. , ३६४  पटक हेरिएको

डोटी, १९ पुस । जिल्लाका पच्चीस हजार स्कुले बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका नौवटै स्थानीय तहमा रहेका विद्यालयमा अध्यनरत ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा पच्चीस हजार बालबालिकालाई खोप लगाउन सुरु गरिएको कार्यालयको भनाइ छ । जिल्लामा ३३ हजार विद्यार्थीको तथ्याङ्क प्राप्त भए पनि पच्चीस हजार डोज मात्रै खोप उपलब्ध भएका कारण पहलो चरणमा पुग्ने जतिलाई खोप लगाउन थालिएको र बाँकीलाई दोस्रो चरणमा लगाइने कार्यालयका स्रोत व्यक्ति डिल्लीरमण जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म कम्तीमा पनि १० हजार जनालाई खोप लगाइएको छ । यो खोप फ्रिजबाट निकालेको एक महिनाभित्र लगाइसक्नुपर्ने भएकाले चाँडै लगाउन थालिएको स्रोत व्यक्ति जोशीले बताउनुभयो । यहाँका ९५ प्रतिशत खोप केन्द्र विद्यालयमै दिइने र केही खोप केन्द्र अस्पताल तथा स्वास्थ्य चौकीबाट उपलब्ध गराइने भएको छ ।

विद्यार्थी पनि खुसीकासाथ कोरोनाविरुद्धको खोप लगाउन थालेका कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले विद्यालयमै कोरोना विरुद्धको खोप लगाउन सुरु गरेका छौँ, विद्यार्थी पनि खुसीकासाथ खोप लगाउन थालेका छन् ।”

प्रकाशित मिति: २०२२-०१-०३ , समय : ११:५५:१५ , २ वर्ष अगाडि