काठमाडौँ, ८ पुस  । नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ)मा प्रहरी कर्मचारीको बोली व्यवहार, आचरण र क्रियाकलापसँग सम्बन्धित दैनिक १० वटासम्म उजुरी पर्ने गर्छन् । उजुरीको यो सङ्ख्याले नै प्रहरीको भाषामा समस्या छ भन्ने देखाउँछ । त्यस्ता उजुरीको निरीक्षणालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदीको नेतृत्वमा रहेको टोलीले स्थलगत छानबिन तथा अनुसन्धान गरी सख्त चेतावनीदेखि निलम्बनसमेत गर्ने गरेको बताइएको छ तर पनि समस्या ज्यूँका त्यूँ छ ।

यसै भएर गृहमन्त्री बालकृष्ण खाणले गत कात्तिक ५ गते प्रहरी सङ्गठनभित्र सम्मानार्थी भाषा प्रयोग गर्न निर्देशन दिनुभएको थियो तर प्रहरी सङ्गठनभित्र मात्र होइन प्रहरीले आम नागरिकका लागि प्रयोग गर्ने बोली पनि सम्मानपूर्ण हुँदैन । त्यस्ता निर्देशनले धेरैजसो हाकिम (उच्च अधिकृत)लाई नछुने भएकाले नै यस्तो समस्या देखिएको चर्चा प्रहरी सङ्गठनभित्रै हुने गर्दछ । सुरक्षा निकायको ‘चेन अफ कमान्ड’ अनुसार, ‘सुधार र परिवर्तन’ नेतृत्व तह (माथि)बाट सुरु हुनुपर्छ तर यस्ता निर्देशन तल्लो तहका कर्मचारीलाई बढी लक्षित हुने भएकाले प्रभावकारी हुन नसकेको हो ।

प्रहरी सङ्गठनभित्र माथिल्लो तहका अधिकृत कर्मचारीले तल्लो तहका कर्मचारीलाई गर्ने बोली व्यवहार परिवर्तन गरी ‘तँ’ र ‘तिमी’ जस्ता शब्द प्रयोग नगर्न नगराउन गृह मन्त्रालयले पनि निर्देशन दिएको छ तर त्यसको जानकारी नै तल्लो तहमा पुग्दैन । “यतिसम्म हुन्छ कि आचरण सुधार र बोली व्यवहार परिवर्तनसम्बन्धी निर्देशन केन्द्रबाट पटक पटक जारी हुन्छन् तर तल्लो तहका कर्मचारीलाई भने त्यसको जानकारी नै हँुँदैन” प्रदेश प्रहरी तालिम केन्द्रका एक सुवेदार मेजर (प्रहरी नायब निरीक्षक)ले भन्नुभयो– “हामीले पनि पत्रपत्रिका पढेर थाहा पाउने हो ।”

सुवेदार मेजर कार्यालय सहयोगीदेखि जुनियर प्रहरी अधिकृत प्रहरी नायब निरीक्षक (सई) सम्मका प्रहरी कर्मचारीको ‘कमान्डर’ हो । नाम उल्लेख नगर्ने सर्तमा उहाँले थप्नुभयो–“आचरण सुधार र बोली व्यवहार परिवर्तन तल्लो तहभन्दा हाकिमबाट सुरु गर्नुपर्छ ।”

आधारभूत प्रशिक्षणका क्रममा तालिम केन्द्रहरूमा गुरुबा (प्रशिक्षक)ले सिकाएको रुखो र तुच्छ भाषा तथा वरिष्ठ हाकिमले कनिष्ठ कर्मचारीलाई नियमित काम कारबाहीमा प्रयोग गर्ने बोली व्यवहार आफैँमा त्रुटिपूर्ण देखिएको छ । अर्थात प्रहरीमा प्रवेशदेखि नै भाषिक समस्या हुन्छ । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल भाषा र बोली व्यवहारमा सामन्ती संस्कार तथा व्यक्तिको स्वभाव झल्किने भएकाले यस्ता कुरालाई प्रहरी सङ्गठनका सदस्यहरूबाट टाढै राख्न पटक–पटक निर्देशन हुने गरेको बताउनुहुन्छ ।

पछिल्लो समय प्रहरीले नागरिक समुदायसँग मात्र नभई सङ्गठनभित्र वरिष्ठहरूले पनि कनिष्ठलाई प्रयोग गर्ने भाषामा सुधार ल्याउनुपर्नेमा उहाँको जोड छ । एक जना सदस्यको बोली व्यवहार र आचरणकै कारण सिङ्गो प्रहरी सङ्गठन बदनामी हुनुपर्ने अवस्था आउँछ, उहाँ भन्नुहुन्छ । सुधार समुदायबाट होइन हामीभित्रैबाट सुरु गरेका पनि छौँ ।

“प्रहरी सङ्गठनभित्र कर्मचारीबीच आन्तरिक तथा बाह्य नागरिक समुदायसँग गरिने व्यवहार, बोली, भाषा र आचरण सुधार गर्नुपर्छ भन्नेमा सबै सहमत देखिन्छन्”, केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० वसन्तबहादुर कुँवर ‘तिमी/तँ’ जस्ता शब्दको प्रयोग निषेध गरिएको बताउनुहुन्छ ।

त्यस्तै वरिष्ठहरूले कनिष्ठ कर्मचारीलाई तुच्छ, अशोभनीय तथा अपशब्द प्रयोग गरी गाली गर्ने, होच्याएर बोल्नेजस्ता गतिविधि नगर्न नगराउन र बोली व्यवहारमा सुधार ल्याउन केन्द्रबाट निर्देशनसहितको पत्राचार भइसकेको उहाँले बताउनुभयो । फेरि पनि व्यावहारिक कार्यान्वयनमा भने समस्या देखिएको छ । यस्ता निर्देशन अधिकृत तहका कर्मचारीले नै पालना गरेको पाइँदैन ।

नागरिक समाजका प्रतिनिधि योगेन्द्रबहादुर बम कार्यालय प्रमुख (कमान्डर) कस्तो व्यक्ति छ सोहीअनुसार प्रहरी कर्मचारीको व्यवहार र बोली परिवर्तन हुने गरेको बताउनुहुन्छ । काठमाडौँ उपत्यकाभित्र ट्राफिक प्रहरीमा केही सुधार आए पनि अन्य प्रहरी भने परम्परागत नै रहेको छ । उहाँ भन्नुहुन्छ, कार्यालय प्रमुखदेखि गेटमा बस्ने प्रहरी सुध्रिन आवश्यक छ । त्यस्तै कार्य समयको अधिकृत र मुद्दामा काम गर्नेको आचरण सुधार्नुपर्छ ।

 

गाेरखापत्र बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.