लेटाङ नगरलाई फुसको छानो मुक्त बनाइने

Enepal Patra Pvt. Ltd. , ४६६  पटक हेरिएको

उर्लाबारी, ४ पुस । मोरङको लेटाङ नगरपालिकाले नगरका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
उधौली पूजा २०७८ को अवसरमा याक्थुङ चुम्लुङ लेटाङ नगर समितिले आयोजना गरेको कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले निशुल्क स्वास्थ्य बीमा गरिदिने बताउनु भएको हो । दैनिक जसो स्वास्थ्य उपचारका लागि सहयोग माग्न आउने क्रम बढेकोले नगरका ९ वटै वडाका अति विपन्न परिवार छनौट गरि स्वास्थ्य बीमा गरिदिने मेयर राईले घोषणा गर्नुभयो । प्रति वडा ४ सय परिवारलाई निशुल्क बीमा गरिदिए पछि आर्थिक अभावका कारण कसैले उपचारबाट बञ्चित हुनु पर्ने छैन्। उहाँले भन्नुभयो ।
कोरोना कारण सामाजिक गतिविधि ढप्प भएका बेला आयोजना भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मेयर राईले १२ वर्ष देखि श्रीमान बेपत्ता भएका एकल महिलालाई ५० हजार रुपियाँको आर्थिक सहयोग वितरण सम्बन्धी कार्यविधि नगरपालिकाले तयार गरेको बताउनु भयो । उहाँले बरु बाटोघाटो पुल पुलेसो नबनाएर भएपनि नगरवासीलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । उहाँको भनाई थियो- अति विपन्न परिवारको फुसको छानो हटाएर जस्ता पाता लगाई दिने कार्यक्रम यही बर्ष सम्पन्न हुँदैछ । राईले चालु आवमा रङ्गीन जस्तापाता खरिदका लागि २० लाख रुपियाँ विनियोजन भएको बताउनु भयो ।अब लेटाङ फुसको छानो मुक्त नगर बन्नेछ ।
नगरपालिका कार्यालयमा आफूलाई जुनसुकै बेला भेट्न सकिने बताउँदै नगर प्रमुख राईले नगरका सबै सामाजिक ,धार्मिक संघ संस्थाका लागि नगरपालिका सहकार्यमा काम गर्न तयार रहेको बताउनु भयो । सके नगरले नसके प्रदेश र संघीय सरकारसँग पुर्‍याएर भएपनि नगरको बिकासका लागि काम गर्ने उहाँको भनाई थियो । ओमिक्रोन संक्रमणको हल्लाले नगरको विकास खर्चमा चुनौति बढेको उल्लेख गर्दै नगर प्रमुख राईले आफू मेयर नभई नगरवासीको सेवक भएको बताउनु भयो ।
चुम्लुङका अध्यक्ष जीवन खेवाको अध्यक्षतामा भएको कार्यक्रममा लिम्बू जातिको झाँकी र च्याव्रुङ नृत्य प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: २०२१-१२-१९ , समय : १८:४८:१२ , २ वर्ष अगाडि