आर्मी सेमिफाइनलमा प्रवेश

Enepal Patra Pvt. Ltd. , ५७९  पटक हेरिएको

काठमाडाैँ, १२ कात्तिक । नेपाल आर्मीले भनिमण्डल भेट्रान्स क्लबलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे ।

राजुले खेलको छैटौँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाए । यस्तै विकर्णले खेलको १६औँ मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए । हरिले खेलको ४९औँ मिनेटमा गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेन ।

आर्मीका हरि महतो ‘म्यान अफ द म्याच’ घोषित भए ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति: २०२१-१०-२९ , समय : १४:५४:१४ , २ वर्ष अगाडि