लोहोन्द्राको वितण्डा न वास रह्यो न अनाज

Enepal Patra Pvt. Ltd. , ५१७  पटक हेरिएको

हरिप्रसाद कोइराला
धनपालथान(मोरङ) ९ कात्तिक । मध्यरातमा लोहोन्द्रा खोलाको बाढी पसेर बिस्थापित भएका अति विपन्न २४३ परिवारलाई आइतबार राहत वितरण गरिएको छ । मोरङको धनपालथान गाउँपालिका वार्ड नं.७ कमलपुरका मुस्लिम परिवारलाई स्वास्थ्य सेवा तथा उद्दार सङ्घ नेपालले राहत वितरण गरेको हो । कमलपुरको मुस्लिम वस्तीमा कात्तिक ३ गते राति लोहोन्द्रा खोलो पस्दा त्यहाँका झण्डै ३ सय परिवार विस्थापित भएका थिए ।
राति घरमा खोलो पस्दा त्यसक्षेत्रका अति विपन्न परिवारको बास मात्र उठेन , घरमा राखिएको अन्न समेत बाढीले बगाएको छ । रङ्गेली बिराटनगर सडकको कदमाहा देखि ३ किलोमिटर दक्षिणको कमलपुरका मुस्लिम परिवार यतिबेला कसले राहत दिन्छ र छाक टारौला भनेर दाताको बाटो हेरेर बसिरहेका छन् ।सुकुम्बासी र विपन्न परिवारको घरमा भएको सबै अनाज बगाएर लगपछि उनीहरू केही दिन यता भोकै छन् । स्थानीय धनपालथान गाउँपालिकाले आपतकालिन राहत वितरण गरे पनि घरको सबै अन्न बगाएपछि राहतले कुनै भरथेक नगरेको वडासदस्य समेत रहनु भएका सफल मियाले बताउनु भयो । मियाका अनुसार गाउँका कसैको घरमा अनाज छैन् । सबै खोलाले बगायो । साना भुईघरमा बस्दै आएका धेरै जसो परिवारको घर नै भत्किएको छ ।
आइतबार स्वास्थ्य सेवा तथा उद्दार सङ्घ नेपालले स्थानीय मदरसा तालेमुल कुर्आन आधारभूत विद्यालयमा २४३ परिवारलाई भूजा,विस्कुट,सावुन , चिउरा र तेल सहित राहत वितरण गरेको छ । अन्तराष्ट्रिय गैर सरकारी संस्था हेस्राको सहयोगमा राहत वितरण गरिएको मोहम्मद डाक्टर सरिफले बताउनु भयो । सरिफले गैर मुस्लिमहरूका लागि पनि राहतको कार्यक्रम रहेको बताउनु भयो । तत्कालका लागि हात मुख जोड्न समस्या नहोस भनेर राहत वितरण गरेका हौं। सधैं अर्काले दिएको खाएर हुन्न । अब मौसम सहज बन्नदै गएपछि श्रम गरेर खानुको विकल्प छैन ।
अति विपन्न मुस्लिम टोलमा कसैको घरबास सग्लो छैन् । जमाल मियाले भन्नुभयो – १० जनाको परिवार छ । अन्न जति सबै खोलाले बगायो । घर समेत भत्कियो । सरकारले सहयोग गरेन । जमालको परिवारलाई घर मर्मत गर्ने र अन्नको जोहो गर्ने दोहोरो चुनौति छ । जमाल प्रतिनिधि पात्र मात्र हुनुहुन्छ ,उहाँ जस्ता पीडित कमलपुरको मुस्लिममा धेरै छन् । मोहम्मद हासिम मियाँले भन्नुभयो–धनीहरूको धानखेत पुरिदियो । गरिवको अन्न अनाज बगाइदियो । कसैको घरमा अन्न छैन् ।

प्रकाशित मिति: २०२१-१०-२६ , समय : ०७:२५:५२ , ३ वर्ष अगाडि