चार वर्षमा बिकासको जग बसाएका छौं – रविन राई, नगर प्रमुख रतुवामाई नगरपालिका

Enepal Patra Pvt. Ltd. , ५८३  पटक हेरिएको

रविन राई ,दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ । साविकका इटहरा, सिजुवा,महादेवा ,झुर्किया ,बरडङगा (१,४ ५ र ७) र गोविन्दपुर गाविसका १,३,४ र ७) नं. वडा मिलेर बनेको रतुवामाई नगरपालिकाको जनसङ्ख्या (२०६८ अनुसार ) ५५,३८० रहेको छ । विराटनगर–रंगेली–आमबारी सडकसँग जोडिएको यो नगरपालिका कृषि,पशुपालन र माछापालनका लागि जिल्ला कै अब्बल भूमि मानिन्छ । नगरपालिका बन्नु पूर्व भौगोलिक रुपमा अत्यन्तै बिकट मानिने साविकका गाउँहरूमा नगरपालिका बनेसँगै बिकासको जग पनि बसेको छ । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नु भएका राई नेपाली कांग्रेसबाट उम्मेद्वार भएर नगरको मेयरमा निर्वाचित हुनु भएको हो । ४३ वर्षीय नगर प्रमुख रविन राईसँग ईनेपालपत्र डटकमका लागि हरिप्रसाद कोइरालाले गर्नु भएको कुराकानी ।
० अचेल के मा ब्यस्त हुनुहुन्छ ?
कोरोना भाइरस कोभिड १९ नगरका गाउँ गाउँमा छिरेको छ । त्यसको असर कम गर्न र क्षति न्यूनीकरणका लागि सचेतना सहित घर घरमा पुगिरहेको छु । रतुवामाई अलि अप्ठ्यारोे भूगोल भित्र पर्छ । वर्षायाम लागेपछि पूर्वमा रहेको रतुवा खोला र पश्चिममा रहेको बक्राहा खोलाले दुख दिन्छ । स्थायी तटबन्ध हाम्रो नगरको पहुँच बाहिर छ । अस्थायी समाधानको उपाय निकालेर नागरिक र नागरिकको घर जग्गालाई बचाउनु पर्छ । निर्वाचित भएर आएको पहिलाृे र दोस्रो वर्ष विकास, निर्माणका लागि शिलान्यासका कामहरू धेरै भए । अहिले साना र ठूला आयोजनाहरू क्रमस निर्माण सम्पन्न भइरहेका छन् । कतिपय ठूला आयोजनाका लागि बजेट जुटाउन संघीय र प्रदेश सरकारसँग सम्बाद गर्ने, सम्पन्न भएका आयोजनाहरूको उद्घाटन गर्ने, नियमित बैठक , सभा सम्मेलन यस्तै काममा दिनचर्या चलिरहेको छ ।
० ४ वर्षको अवधि भित्र नगरमा भएका उल्लेखनीय विकास निर्माणका कामहरू के के हुन् ?
विगतमा नगर भित्र उर्लाबारी बरडङ्गा सडक र रङ्गेली–आमबारी सडक मात्र कालोपत्रे थियो । हामी आएपछि त्यो बाहेक ३० किलोमिटर सडक कालोपत्रै भएको छ । चार वटा पुल बनेका छन् । १ हजार किलोमिटर भन्दा बढी सडक स्तरीय ग्राभेल भएको छ । अहिले नगरका १० वटै वडाका प्रमुख सडकहरूमा धुलो र हिलो टेक्नु पर्दैन् । भित्री सडकहरू पनि ग्राभेल भएका छन् । सबै वडा कार्यलय सम्म पुग्ने सडकको स्तरोन्नति गरिएको छ । विद्युत पुग्न कुनै गाउँ बाँकी छैन् । किसानको खेत खेतमा सिंचाई पु¥याउन बोरिङ र कुलोको ब्यवस्था मिलाएका छौं सडकहरूलाई न्यूनतम २० फिट चौडाई हुनुपर्ने मापदण्ड तय गरेका छौं ।ठाउँ हेरेर सडकको चौडाई अधिकतम ४० फिट हुनुपर्ने मापदण्ड बनाइएको छ । बिगतमा हिउँदमा मात्र गाडी पुग्ने गाउँमा बाह्रै महिना गाडी पुग्ने बनाइएको छ । नगरवासीको स्वास्थ्यमा पहुँच पुगोस भनेर ५ वटा वडामा स्वास्थ्य केन्द्र र ५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापित गरिएको छ ।१० वटा वडा मध्ये वडा नं. ८ र १० को वडा कार्यलय मात्र निर्माण हुन बाँकी छन् । नगरको प्रशासनिक भवन पनि निर्माणधीन अवस्थामा छ ।
जनप्रतिनिधि आएपछि नगरवासीले प्रत्यक्ष अनुभुति हुने गरी के–के काम गर्नुभयो ?
मैले अघि उल्लेख गरेका काम पनि हामी आएपछि हामीले नै नगरवासी कै लागि गरिएका काम हुन । तर, सबै कामको त्यति चर्चा नहुँदो रहेछ । त्यसैले केही नयाँ काम गर्नु पर्छ भनेर मैले अति विपन्न परिवारमा कुनै सदस्यको मृत्यू भएमा किरिया खर्च वापत १० हजार रुपियाँ घरमै पु¥याइदिने ब्यवस्था गरेका छौं । सुत्केरी आमालाई पोषणको कार्यक्रम सञ्चालन भएको छ । अति विपन्न परिवारलाई उपचार गर्न अस्पताल सम्म पुग्नका लागि नगरपालिकाले खर्चको प्रबन्ध मिलाएको छ । नगरले कडा खाले रोगको(क्यान्सर,मुटु,मिर्गौला ,स्पाइनल कड इन्जुरी)लगायतका रोगको उपचार गर्न ५० हजार रुपियाँ सम्म सहयोग गर्दै आएको छ ।
० रतुवामाई नगरपालिकालाई समृद्ध नगर बनाउने आधारहरु के के हुन ?
रतुवामाई नगरपालिका मोरङ कै सबैभन्दा बढी खेतीयोग्य जमीन भएको नगरपालिका हो । यस नगरलाई समृद्ध बनाउने मूख्य आधार पशुपालन र कृषिमा आधारित ब्यावसायिक उद्यम हो । त्यसैले कम खर्चमा बढी उत्पादन गर्नका लागि नगरले कृषि र पशुपालनमा आधारित धेरै कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरमा ४ सय बढी कृषि समूह दर्ता भएका छन् । बीउ , बीजन, कृषिमा यान्त्रिकरण,बिदेशबाट फर्केका युवालाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण जस्ता कार्यक्रम सञ्चालन भएका छन् । १५० जना युवा कृषि उद्यमीलाई नगरपालिकाले ५०÷५० हजार रुपियाँ अनुदान उपलब्ध गराएको छ । नगरका विभिन्न वडामा ब्यावसायिक केरा खेती, ड्रागन फ्रुट खेती , तरकारी खेती धान बीउ विजन स्रोत केन्द्र भवन निर्माण लगायत धेरै कार्यक्रम कृषिमा आधारित छन् । पशुपालन गर्ने युवाहरूलाई छ्ट्टै कार्यक्रम सञ्चालन भएका छन् । कृषिबाट उत्पादन वृद्धिका लागि गुरूयोजना तयार भयो तर,योजना अनुसार खर्च ब्यवस्थापन चुनौतिको विषय बनेको छ ।
० कोभिड १९ बाट बिकास निर्माण क्षेत्र कतिको प्रभावमा पर्यो ?
कोभिडका कारण विश्वनै प्रभावित हुँदा हामीलाई अछुतो राखेन । देशका अन्य क्षेत्रमा जसरी राहत वितरण भयो हामीले पनि त्यसरी नै राहत वितरण ग¥यौं । भारतसँग सीमाना जोडिएको नगरपालिका हो । यहाँका धेरै मानिस रोजगारका लागि भारत जान्छन् भने उताबाट पनि उत्तिकै मानिस आउँछन् । भारतबाट फर्केका नेपालीलाई क्वारेन्टिनमा राख्न , पीसीआर टेष्ट गर्न हम्मे हम्मे भयो । सिमित स्रोतका वावजुद पनि स्वास्थ्य प्राविधिक परिचालन गरेर हामीले नागरिकको स्वास्थ्यमा सर्तकता अपनायौं । सुरुमा केही विकास खर्च कटौति गरेर ति नियमित कार्यक्रम सञ्चालन ग¥यौं । पछिल्लो आर्थिक वर्षमा संघीय सांसद डाक्टर मीनेन्द्र रिजालले ७५ लाख रुपियाँ उपलब्ध गराउनु भएपछि सोही रकमले झुर्कियाको नगर अस्पताललाई ब्यवस्थित ढङ्गले सञ्चालन गरिरहेका छौं ।
० नगरको विकाशमा देखिएका समस्या र अप्ठ्याराहरु के के हुन् ?
रतुवामाई नगरपालिका दुईवटा ठूला खोलाको बीचमा अवस्थित छ । यि दुई खोलाले हरेक वर्ष ठूलो क्षति पु¥याउँदै आएका छन् । खोलामा स्थायी तटबन्ध छैन् । नगरको बजेटले खोला तटबन्ध सम्भव छैन् । रतुवा र बक्राहा खोला रतुवामाई नगरको ३०÷३० किलो मिटर क्षेत्र हुँदै बग्छन् । यि खोला नगरको दुखका रुपमा रहेका छन् । सङ्घीय र प्रदेश सरकार मार्फत ठूला आयोजनाका लागि बजेट प्राप्त भएको छैन् । सिमित स्रोत र साधनका भरमा नागरिकले अपेक्षा गरेका धेरै काम गर्नु पर्ने अवस्था छ । देश सङ्घीयतामा गयो । हामी निर्वाचित भएर आएको ४ वर्ष पूरा भइसकेको छ । यो अवधिमा प्रदेश र सङ्घीय सरकारले कर्मचारीको समायोजन गरिसकेको छैन् । प्रदेश लोक सेवा आयोग गत वर्ष मात्र गठन भयो । केन्द्रीकृत सत्ता पालिका स्तर सम्म त पुग्यो । अधिकार पनि प्राप्त भयो । तर, कार्यान्वयनको पक्ष फितलो रहेको छ । नगरपालिकामा काम गर्ने जनशक्ति नै नभएपछि काम गर्न सम्भव छैन् ।
० तपाईले कल्पना गर्नुभएको रतुवामाई नगरको स्वरुप बताइदिनुस न ?
पहिलो कुरा रतुवामाई नगर मोरङको प्रमुख कृषि क्षेत्र हो । त्यसो भन्दैमा यहाँ अरु केही गर्न सकिन्न भन्ने होइन् । हामीले वृद्ध–वृद्धाका लागि ठाउँ ठाउँमा ज्येष्ठ नागरिक चौतारी निर्माण गरेका छौं । नगरका मूख्य मुख्य स्थानमा कृषि बजारको ब्यवस्था गरिएको छ । शीत भण्डार निर्माण अन्तिम चरणमा पुगेको छ । नगरका १३ स्थानमा साप्ताहिक हाट बजार लाग्छन् । ति बजारहरूलाई भौतिक रुपमा ब्यवस्थित बनाउने काम अन्तिम चरणमा पुगेको छ । नगरमा एउटा सुबिधा सम्पन्न रङ्गशाला चाहिन्छ भन्ने अवधारणा अनुसार गढीमहाराज खेल मैदानलाई रङ्गशालाको रुपमा बिकसित गर्ने काम सुरु भएको छ । नगरपालिकाका क्षेत्रका शैक्षिक प्रतिष्ठानहरूलाई पूर्वाधारका हिसावले होस या जनशक्तिका हिसावले सुबिधा सम्पन्न बनाउने कामको थालनी भएको छ । वडा नं.१ को भल्कुवाको जङ्गलमा रमणीय पार्क निर्माण भइरहेको छ । १६ करोडको डिपीआर निर्माण भएको थियो । हाल ७ करोड रुपियाँको काम भइरहेको छ ।
० नगरपालिकाका महत्वकांक्षी आयोजनाहरू कुन–कुन हुन् । जुन आयोजना निर्माण गर्न नगरको स्रोत साधनले भ्याउँदैन ?
झुर्किया देखि सातमेडी सम्मको मदन भण्डारी मार्ग र लारिकट्टाबाट गोविन्दपुर–इटहरा–धाद्रा हुँदै उर्लाबारी क्याम्पस जोड्ने गिरिजाप्रसाद कोइराला मार्ग यो नगरको प्रमुख सडक आयोजना हुन् । कतिपय सडक सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेर पनि निर्माण सम्पन्न हुन सकेका छैनन् । सङ्घीय र प्रदेश सरकारले काम नगर्ने अनि त्यसको अपजस स्थानीय पालिकाले लिनु पर्ने अवस्था छ । झण्डै ६० किलो मिटर लामो नगर चक्रपथ निर्माण गर्नु पर्ने छ । यो आयोजना सम्पन्न गर्न पनि नगरको बजेटले भ्याउँदैन । सबैभन्दा ठूलो र गरिहाल्नु पर्ने काम चाँहि रतुवा र बक्राहा खोलाको तटबन्ध हो । हरेक वर्ष सयौं विगाहा खेतीयोग्य जमीन कटान भइरहेको छ । धेरै नगरवासीलाई उठीबास लगाएको छ । उर्लाबारी– आमबारी हुँदै बिराटनगर जोड्ने सडकको उर्लाबारी आमबारी सडक खण्ड फराकिलो बनाउनु पर्नेछ । मेची अञ्चलसँग प्रदेश १ को राजधानी जोड्ने सबैभन्दा छोटो मार्ग यही हो । नगर भित्रको सडक सञ्जालको गुरु योजना बनाइसकेका छौं । अहिले गुरु योजना अनुसार काम गर्न सकेका छैनौं । आवश्यकता जहाँ हुन्छ, त्यही काम भएको छ ।
० नगरको आन्तरिक स्रोतका विषयमा केही जानकारी गराइदिनु न ?
नगरको आन्तरिक स्रोत भनेको कर नै हो । तर, त्यसलाई पनि हामीले ब्यवस्थित गर्दै लगेका छौं । विगतमा ५ गाविसले वार्षिक ७० लाख रुपियाँ राजश्व उठाउँथे । हामी आएपछि १ करोड २५ लाख आन्तरिक आम्दानी पु¥याएका छौं । ग्रामीण क्षेत्र भएकोले हरेक क्षेत्रमा कर लगाउँदा पनि सन्देश राम्रो जाँदैन । त्यसैले कर वैज्ञानिक ढंगबाट लगाउनु पर्छ ,भन्ने मान्यतामा हामी छौं । बक्राहा र रतुवा खोलाको खेर गएको बालुवा पनि ठेक्का लगाउनु पर्छ भन्ने सुझाव आएको छ । भरौटमा प्रयोग हुने बालुवा ठेक्का लगाउन सक्यौं भने नगरको आन्तरिक स्रोत ५ करोड पुग्न सक्छ ।
० चुनावमा गर्नु भएका प्रतिवद्धताहरू के कति पुरा गर्नुभयो ?
खासगरी रतुवामाई नगरपालिका पूर्वाधार भएर नगरपालिका बनेको होइन । नयाँ राजनीतिक ब्यवस्थामा नगरपालिका र गाउँपालिकाको धारणा आयो । सोही अनुसार राजनीतिक सहमतिमा गाउँहरू मिलाएर नगरपालिका बनाइएको हो । नगरपालिका त बन्यो । तर, कानून अभाव , नीतिगत समस्या , नयाँ संरचनालाई ब्यवस्थित गर्नु पर्ने चुनौति । सङ्घीय सरकारले ५÷६ महिनामा कर्मचारी फेरबदल गरिदिने परिपाटीले गएका दुई वर्ष देखिने गरी काम हुन सकेनन् । जब सबै कुराको जग बस्दै गएको थियो । त्यसबेला कोभिडले काम गर्न दिएन । यद्यपि धेरै काम भएका छन् । मैले नगरलाई बिकास जग बसाउँछु भनेको थिए । त्यो जग बसेको छ । सडक बनेका छन् । पुल बनेका छन् । विपन्न दलित र सुकुम्बासीका लागि कार्यक्रम बनेका छन् । र कार्यान्वयन पनि भएका छन् । सङ्घीय संरचनामा जानु पर्ने भएकोले सबै नयाँ सृष्टि गर्नु पर्ने वाध्यता थियो । विषम परिस्थितिका वावजुद पनि काम भएका छन् । तर, अझै धेरै गर्न बाँकी छ । हाम्रो कार्यकालको यो अन्तिम वर्ष हो । नगरवासीले देख्न र उपयोग गर्ने गरी केही योजनाहरू यसै वर्ष सम्पन्न हुँदै छन् ।
० अघिल्लो सरकारले सुकुम्वासी भुमिहीन र अव्यवस्थित बसोवासका लागि काम थालेको थियो नगरमा के कति प्रगती भयो ?
नगरमा ६ हजार अब्यवस्थित सुकुम्बासी, भूमिहीन दलितको लगत सङ्कलन गर्ने काम भएको छ । पूर्ववर्ती सरकारले तोके अनुसार काम भएका छन् । तर, त्यो आयोग नै खारेज भएपछि अब नयाँ ढाँचाबाट काम अघि बढ्ने छ ।
० अन्त्यमा केही छुट्यो कि ?
धेरै कुरा आएका छन् । नयाँ संरचनामा जाँदा एकै पटक धेरै काम हुन्छ भन्ने जन अपेक्षा थियो । तर, कानून, विधि, ऐन र नियमको अभावमा लामो समय स्थानीय सरकार अलमलमा प¥यो । नयाँ राजनीतिक प्रणाली स्थापना भएको छ । संविधानमा लिपिवद्ध अधिकार कार्यान्वयनको चरणमा पुगेका छन् । सङ्घीय सरकारको कमी कमजोरीले गर्दा ब्यवस्था र सङ्घीय प्रणाली माथि नै सर्वसाधरणले प्रश्न चिन्ह उठाउन थालेका छन् । तर पनि मुलुक निर्माणका लागि सङघीय ब्यवस्था नै राम्रो रहेछ भन्ने चाँही प्रष्ट भएको छ ।

प्रकाशित मिति: २०२१-०८-१५ , समय : १३:११:४९ , ३ वर्ष अगाडि