आसाममा सिकेको सीप नेपालमा पशुपालनबाट उल्लेख्य आम्दानी

Enepal Patra Pvt. Ltd. , ७१२  पटक हेरिएको

हरिप्रसाद कोइराला
कानेपोखरी(मोरङ),३० साउने । मोरङको कानेपोखरी–३ हरकपुरका होमबहादुर कट्वालले ब्यावसायिक रुपमा गाईभैंसी पाल्न थाल्नु भएको ७ वर्षभयो । एक माउ भैंसी र दुई माउ गाईबाट ब्यावसाय थाल्नु भएका ६१ वर्षीय कट्वालको गोठमा अहिले ७ माउ गाई र ४माउ भैंसी छन् ।
अचेल गाईभैंसी बकेर्ना भए त्यसैले उहाँ अहिले दैनिक ६० लिटर दूध बिक्री गरिरहनु भएको छ । दुई वटा अलग अलग गोठमा उहाँले गाई र भैंसी पाल्नु भएको छ । २०३५ सालमा रोजगारको खोजिमा भारतको आसाम भासिनु भएका कट्वालले उतै पशुपालन सम्बन्धी ज्ञान प्राप्त गर्नुभयो । सय माउ गाई पालेर बस्नु भएका होमबहादुरले उतै घरखेत जोड्ने पैसा कमाउनु भयो । २०४८ मा मोरङको कानेपोखरी–३ आउनु भएका कट्वालले सुरुमा आफूलाई उपभोग गर्ने दूधका लागि मात्र गाई पाल्नुभयो । तर, उहाँले पैसा देख्न पाउनु भएन।आसाममा सिकेको सीपलाई नेपालमा प्रयोग गर्न उहाँ सुरु देखिनै प्रयास गरिरहनु भएको थियो । छोरा छोरी साना , सानो खेतीपाती पशुपालन सम्भव भएन । २०७१ देखि ब्यावसायिक पशुपालन सुरु गर्नु भएका कट्वाल ५ वर्षयता वार्षिक ७ लाख रुपियाँ कमाइरहनु भएको छ। यो आम्दानी खर्च कटाएर हो । उहाँले भन्नुभयो– मेरो गोठमा ल्याएका चौपाय आज सम्म खाल्डो खनेर गाड्नु परेको छैन् । पाडा–पाडीको माग उच्च छ । पाडा–पाडी र बाच्छा–बाच्छीमात्र वार्षिक अढाई लाखको बिक्री हुन्छ । पछिल्लो समय गोबर पनि उत्तिकै बिक्री हुन्छ । कट्वालले गत वर्ष ७० हजारको गोबर मल बिक्री गरेको सुनाउनु भयो ।
८ लाख लगानी गरेर सुरु गरेको रामु गोमा कृषि फर्म अहिले १८ लाख रुपियाँको भएको छ । उहाँले भन्नुभयो–डेढलाख रुपियाँ हालेर ल्याएको भैंसी बीमा कम्पनीले १ लाख माथिको बीमा गरिदिँदैन । किसानलाई राज्यले दाना र औषधि उपचारमा सहुलियत दिने हो भने दूधमा देशलाई आत्मनिर्भर बनाउन सकिने कट्वाल बताउनु हुन्छ । किसानलाई हेर्ने सरकारी दृष्टिकोण ने सकारात्मक छैन् । उहाँले ब्यावसाय थालेको ७ वर्ष पछि २ लाख रुपियाँ सरकारी अनुदान पाएको बताउनु भयो । श्रीमती र उहाँ कै भरमा पुरै फर्म सञ्चालन भइरहेको छ । छोरा–छोरी आ–आफ्नो पेशा ब्यवसायमा छन् । गोबर सोर्न नसघाए पनि छोरा छोरीले असहयोग गरेका छैनन् ,कट्वालले हात गोडा नबसुन्जेल गाईभैसी पालि रहने बताउनु भयो ।
६१ वर्षीय हामेबहादुर कट्वालको रामु गोमा कृषि फर्म, जहाँ ७ माउ गाई र ४ माउ भैंसी, एउटा बीउ राँगो सहित २६ वटा चौपाय रहेका छन् ।

प्रकाशित मिति: २०२१-०८-१४ , समय : २०:१९:५२ , ३ वर्ष अगाडि