अरुणबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विधुत

Enepal Patra Pvt. Ltd. , ७२६  पटक हेरिएको

ध्यान कुलुङ

सङ्खुवासभा, असोज १५ गते । विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना रहन सक्ने र त्यसबाट तीन हजार ३९५ मेगावाट विद्युत् उत्पादन हुने देखिएको हो ।

पाँचवटा ठूला आयोजनामध्ये अहिले नौ सय मेगावाटको अरुण तेस्रो निर्माणको क्रममा छ भने अन्य आयोजनाको अध्ययन भइसकेको छ । एक हजार ६१ मेगावाटको अपर अरुण, छ सय मेगावाटको लोवर अरुण, ४३४ मेगावाटको किमाथाङ्का अरुण र चार सय मेगावाटको अरुण ४ को अध्ययन भइसकेको विद्युत् विकास विभागले जनाएको छ ।
नेपालको पानी जनताको लगानी कार्यक्रम समावेश अपर अरुण भोटखोला गाउँपालिकाको चेपुवा र रुकुमाको बीचमा निर्माण हुने भनिएको छ ।
यस आयोजनाको सम्पूर्ण अध्ययन पूरा भइसकेको विद्युत् विकास विभागलाई उद्धृत गर्दै ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । नेपाल र नेपालीको लगानीबाट सञ्चालन गरिने यो परियोजना केही वर्षभित्रै सुरु हुनेसमेत उहाँले बताउनुभयो ।
छ सय मेगावाटको लोवर अरुणको पनि अध्ययन सकिएको बताइएको छ । यो परियोजना खाँदबारी नगरपालिकाको हेलुवाबेँसी र चेवाबेँसी क्षेत्रभित्र निर्माण हुने बताइएको छ । हाललाई छ सय मेगावाट विद्युत् उत्पादन हुनसक्ने भनिए पनि यसलाई स्तरोन्नति गरेर अझ बढी विद्युत् उत्पादन गर्न सकिने विज्ञहरूले बताएका छन् ।

भोटखोला गाउँपालिकाकै छुम्सुर र आसपासमा निर्माण गर्ने भनिएको ४३४ मेगावाटको पनि अध्ययन भइसकेको विद्युत् विकास विभागका सूचना अधिकारी निशा रिजालले जानकारी दिनुभयो । भोटखोलाकै अर्को चार सय मेगावाटको अरुण ४ परियोजनाको पनि अध्ययन भइसकेको उहाँले जानकारी दिनुभयो ।
अध्ययन भइसकेका आयोजनाका लागि विद्युत् विकासकर्ता खोज्ने क्रममा रहेको विद्युत् विकास विभागले जनाएको छ । विकासकर्ताले विद्युत् उत्पादनको जिम्मा लिएपछि आफैले पनि पुनः अध्ययन गर्न सक्ने विद्युत्का जानकार खाँदबारी–८ का जीवनाथ खनालले बताउनुभयो ।

www.gorkhapatra.com

प्रकाशित मिति: २०१९-१०-०२ , समय : १२:१८:११ , ५ वर्ष अगाडि