Enepal Patra Pvt. Ltd. , २ पटक हेरिएको
सञ्जय मिश्रा
रौतहट, २० भदौ । मधेस प्रदेशका पूर्वअर्थमन्त्री तथा संविधानसभा सदस्य सुनिलकुमार यादव (जितेन्द्र) को पहलमा रौतहटमा निर्माण सम्पन्न भएका पाँचवटा विकास योजनाको एकैपटक उद्घाटन गरिएको छ।
स्थानीय कटहरिया नगरपालिका–१, भसेढवामा निर्माण सम्पन्न भएका ती योजनाको शुक्रबार विशेष समारोहबीच उद्घाटन गरिएको हो।
पूर्वप्रदेश सांसद कुन्दन कुशवाहाको सक्रियता तथा तत्कालीन अर्थमन्त्री यादवको पहलमा प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरी योजनाहरू निर्माण गरिएको बताइएको छ।
आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका योजनाहरूमा १६ लाख रुपैयाँको खुला व्यायामशाला, १२ लाख रुपैयाँको नागरिक आरोग्य भवन, १२ लाख रुपैयाँको योग भवन, १६ लाख रुपैयाँको दलित भवन र १२ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवन स्तरोन्नति रहेका छन्।
कटहरिया नगरपालिका वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महतो कोइरी र वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाले संयुक्त रूपमा ती संरचनाको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष भूपेन्द्र महतो कोइरीले निर्माण भएका संरचनाको संरक्षण र प्रभावकारी सदुपयोगमा स्थानीयवासीको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले सार्वजनिक लगानीबाट बनेका संरचनालाई समुदायको आवश्यकता र हितअनुसार प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि एवं वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाले विकास योजना ल्याउन पूर्वप्रदेश सांसद कुन्दन कुशवाहाको पहल तथा तत्कालीन अर्थमन्त्री सुनिलकुमार यादवको सक्रिय भूमिकाको प्रशंसा गरे। उनले विशेषगरी खुला व्यायामशाला र योग भवनलाई नियमित रूपमा प्रयोग गर्न स्थानीय नागरिकसँग आग्रह गरे।
एकै स्थानमा स्वास्थ्य, योग, व्यायाम तथा सामाजिक प्रयोजनका लागि आवश्यक पूर्वाधार निर्माण हुनु स्थानीय बासिन्दाका लागि उपयोगी हुने विश्वास लिइएको छ। स्वास्थ्य चौकीको स्तरोन्नतिसँगै नागरिक आरोग्य, योग र व्यायाम पूर्वाधारले स्वास्थ्य तथा सामाजिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
प्रकाशित मिति: २०२६-०९-०५ , समय : १८:५५:१६ , ५५ मिनेटutes अगाडि