तरुण सभापति सिटौला नै भएको जिल्ला समितिको भनाई

Enepal Patra Pvt. Ltd. , १४९०  पटक हेरिएको

उर्लाबारी, ११ साउन । नेपाल तरुण दल मोरङ जिल्ला कार्य समितिले उर्लाबारी नगर समितिको सभापति नारायण सिटौला नै भएको स्पष्ट पारेको छ ।
सोमबार नेपाल तरुण दल जिल्ला कार्य समिति मोरङका सभापति प्रभाकर थापाले सिटौलालाई आधिकारिताको पत्र दिँनु भएपछि नगर सभापति को ? भन्ने बिबाद सकिएको छ । थापाद्वारा सिटौलालाई दिइएको पत्रमा चौथो महाधिवेशनबाट निर्वाचित नगर सभापति नै पाँचौं अधिवेशनले अर्को सभापति चयन नगरे सम्म रहने ब्यवस्था बिधानमा रहेकोले सभापति सिटौला नै रहेको उल्लेख छ ।
चौथो महाधिवेशनबाट सभापतिमा निर्वाचित सिटौलाले कार्य ब्यस्तताको कारण देखाउँदै उप सभापति रोहित कार्कीलाई कार्य वहाकको जिम्मेबारी दिनु भएको थियो ।
वीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारेर सिटौलाले तरुण दलको नगर सभापतिमा फर्किएको र कार्कीलाई दिइएको जिम्मेबारी फिर्ता लिएको घोषणा गर्नु भएको थियो । पदमा फर्किएको घोषणा गरेको भोलि पल्ट नै नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति खड्गबहादुर फागोले तरुण दलको नगर सभापति रोहित कार्की नै भएको घोषणा गर्नु भएको थियो । सिटौलाले पदमा फर्किएको र क्षेत्रीय सभापति फागोले रोहित कार्कीलाई नै आधिकारिक सभापति तोकेपछि बिबाद उत्पन्न भएको थियो । यसैबीच नगर सभापति सिटौलाले अब आधिकारिताको विषय टुङ्गिएको बताउनु भयो । माथिल्लो तहका अग्रज नेताहरूले संगठन भित्रको आन्तरिक समस्यालाई घर भित्रै बसेर मिलाउन नसक्दा समस्या उत्पन्न भएको सिटौलाको भनाई छ । उहाँले भन्नुभयो –अभिभावकहरू बनाउने भन्दा बिगार्ने तिर लाग्नु भएन । विधि र विधान सम्मत पार्टी संगठन सञ्चालन भए कुनै समस्या उत्पन्न हुँदैन, उहाँले भन्नुभयो । आफूले पदबाट राजिनामा नदिएको स्पष्ट पार्दै सभापति सिटौलाले कार्य बहाक दिएको कुरालाई राजिनामा भनेर प्रचार गरिनु दुखद भएको बताउनु भयो । मैले राजिनामा दिएको प्रमाण भए , पेश गर्न पनि उहाँले क्षेत्रीय सभापति फागोसँग आग्रह गर्नुभएको छ । राजिनामा दिँदा तरुण दलको क्षेत्रीय सभापति वा जिल्ला सभापतिलाई दिने हो । पार्टीको क्षेत्रीय सभापतिले मैले राजिनामा दिएको भन्नुभएछ । मलाई दुख लागेको छ । सिटौलाले कार्यबहाक दिएर पुन काममा फर्किन खोज्दा पनि समस्या भएको प्रति चिन्ता प्रकट गर्नुभयो ।
काम नगरेको आरोप छ नि भन्ने जिज्ञाषामा सभापति सिटौलाले भन्नुभयो – जुघाँको रेखी नबस्दै नेविसङ्घ । तरुण दल र कांग्रेस बनेर काम गरेको छु । विगतमा पार्टीले दिएको हरेक जिम्मेवारी पुरा गरेको छु । तन मन धन दिएर एक दशक बढी काम गरेको नदेख्ने साथीहरू २०६२/०६३ सालको आन्दोलनको समयमा कुन दूलामा पसेका थिए ? उहाँले २०६२/०६३ सालको आन्दोलनमा उर्लाबारी देखि काठमाडौं सम्म अग्रमोर्चामा रहेर काम गरेको स्मरण गर्दै आन्दोलनका क्रममा  चित्रलेखा यादवसँगै गिरफ्तार भएर दशरथ रङ्शालामा बस्नु परेको बताउनु भयो ।
को हुन नारायण ?
नारायण सिटौला नेपाली कांग्रेसका स्थायी कार्यकर्ता हुनुहुन्छ । पार्टी संगठन भने पछि हुरुक्क हुने सिटौलाको राजनीतिक यात्रा २०५० देखि सुरु भएको हो । इटहराको सरस्वती माध्यमिक विद्यालयमा नेपा विद्यार्थी सङ्घको इकाई सभापति भएर पार्टी संगठनमा बाँधिनु भएका सिटौला २०५१ मा तत्कालिन क्षेत्र नं. १ को क्षेत्रीय सचिबमा निर्वाचित हुनुभयो । गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रबाट राजनीतिमा होमिनु भएका सिटौलालाई त्यतिबेलै देखि राजनीतिको भोक लाग्न थालेको हो ।
कलेज जीवन सुरु भएपछि उहाँ उर्लाबारी बहुमुखी क्याम्पसको ईकाई सचिबमा चयन हुनुभयो । बामपन्थीहरू जगजगी भएको उर्लाबारी क्याम्पसमा स्ववियूको निर्वाचनमा सदस्य पदको टिक ट पनि पाउनु भयो । यद्यपि सफलता हात लागेन । आफ्ना साथीभाइका लागि जस्तोसुकै कठिन अवस्थामा पनि सहयोग गर्न तयार हुने सिटौला ब्यापार क्षेत्रमा पनि उत्तिकै सफल ब्यावसायि मानिनु हुन्छ । ब्यापार र राजनीतिलाई सँगै लाने सोचका साथ उहाँ तरुण दलको सभापतिमा फर्किनु भएको छ । उहाँले भन्नुभयो – पार्टी संगठनलाई क्लब वा कम्पनीका रुपमा प्रयोग गर्नेहरू परिपाटीको अन्त्यका लागि तरुण दल लागि पर्नेछ । सिटौलाले संगठनमा कसैलाई निषेध नगरी अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । झापाको दमकमा विभिन्न ३ वटा उद्योग सञ्चालन गरिरहनु भएका सिटौलाले झण्डै अढाई सय जनालाई प्रत्यक्ष रोजगार दिइरहनु भएको छ । रोजगार सिर्जना हुने खालको उद्योग सञ्चालन गरेर युवालाई विदेश पलायन हुनबाट रोक्ने उहाँको दीर्घकालिन कार्य रहेको छ । उहाँले भन्नुभयो – सरकारले युवालाई रोजगार दिन सकेको छैन् । स्वदेशका उद्योगीलाई सरकारले प्रबर्द्धन गर्ने हो भने नेपाल मै रोजगार सिर्जना हुन सक्छ ।

 

प्रकाशित मिति: २०२१-०७-२६ , समय : १९:४८:०४ , ३ वर्ष अगाडि