सभामुख महराद्वारा शीर्ष नेतासँग परामर्श, राजीनामा दिने सम्भावना

Enepal Patra Pvt. Ltd. , ४४९  पटक हेरिएको

काठमाडौं, १४ असोज। आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ ।

नेकपाका एक शीर्ष नेताका अनुसार महराका सामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरु विकल्प छैनन् । महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार विहानै भेट गरिसकेका छन् । सभामुख महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा शीर्ष नेताहरू भेला भएका छन् । सम्भवतः महराले आजै राजीनामा दिनेछन् ।

नेकपा सचिवालयका एक सदस्यले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीले हिँजोदेखि नै महराजीलाई यसको संकेत गरिसक्नुभएको छ । घटनाक्रमहरु जसरी आए पनि ती महिलाको आरोपपछि अब सभामुख पदमा रहन नैतिक रुपमा मिल्दैन । उहाँले राजीनामा दिएर सत्य तथ्य बाहिर ल्याउन सघाउनु उपयुक्त हुन्छ ।’

स्रोतका अनुसार महराले आफूमाथिको आरोप खण्डन गरेपनि उनी हतास अवस्थामा छन् । के गर्ने भन्ने बारे उनले परामर्श गरिरहेका छन् । आजै साँझसम्म महराले राष्ट्रपति समक्ष राजीनामा दिने सम्भावना पनि छ ।

बलात्कार जस्तो संगीन आरोप लागेपछि सभामुख पदमा रहिरहन महरालाई नैतिक र राजनीतिक संकट हुनेछ । सभामुखलाई पदबाट हटाउन महाअभियोग लगाउने विकल्प हुन्छ । तर, महाअभियोग लगाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग एक चौथाइ संख्या पनि प्रतिनिधिसभामा छैन ।

सभामुखमाथि गम्भीर आरोप लागेकाले नेकपाले नै निकास दिनुपर्ने देखिन्छ । अधिकांश नेता र सांसदहरुले महराले राजीनामा दिनुपर्ने भनेका छन् ।

प्रकाशित मिति: २०१९-१०-०१ , समय : ११:१६:०९ , ५ वर्ष अगाडि