जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण

Enepal Patra Pvt. Ltd. , ४७३  पटक हेरिएको

खेमराज गौतम,

गलकोट, १० असार  । बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ । जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो । गत पुसमैै ९० प्रतिशत काम सकिएको बसपार्क मौसम खराबीका कारण पार्किङस्थल कालोपत्रेको काम रोकिएको थियो । बसपार्कले अन्तिम रूप लिए पनि कालोपत्रेमा ढिलाइ भएको थियो । मौसममा सुधार आएसँगै मङ्गलबारदेखि बसपार्क कालोपत्रेको काम शुरु भएको यो काम मौसमले साथ दिए दुई दिनमै सकिने निर्माण कम्पनीले जनाएको छ ।

बसपार्क निर्माणका लागि १९ वर्षअघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेका थिए । । लामो समय सरकारी उदासीनताका कारण अलपत्र परेको बसपार्क निर्माणले जनप्रतिनिधिको आगमनसँगै २०७५ सालमा बागलुङ नगरपालिकाको पहलमा गति लिएको थियो । ठेक्का स्वीकृत भएको साढे दुई वर्षपछि बसपार्क निर्माणले अन्तिम रूप लिएका नगरपालिकाले जनाएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौँ मूल्य पर्ने जग्गा निःशुल्क दिए पनि बसपार्क निर्माण शुरु हुन सकेको थिएन ।

बागलुङ–४ दाबगरामा व्यवस्थित बसपार्क निर्माणका लागि स्थानीय ५२ जग्गादाताले निःशुल्क उपलब्ध गराएको जग्गामा अहिले बसपार्क निर्माण गरिएको छ । बसपार्क निर्माणको काम लगभग सकिएको नगरपालिकाका इन्जीनियर मनोज शर्माले जानकारी दिनुभयो । “बसपार्कमा निर्माणको काम लगभग सकिएको छ, रङ्गरोगन, विद्युत् जडान भइसेको छ, बाँकी आठ प्रतिशत प्रगति थियो, त्यो पनि पार्किङस्थलको कालोपत्रे शुरु भएको छ”, शर्माले भन्नुभयो, “मौसमले साथ दिएमा एक हप्ताभित्रै बसपार्कको काम सकिनेछ र त्यस लगत्तै सञ्चालनमा आउने छ ।” डेढ वर्षमा सकिने बसपार्क कोरोनाका कारण साढे दुई वर्षमा सकिएको हो ।

विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रु आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक छ÷छ महिना म्याद थपिएको हो । पुनः कोरोनाको कारण देखाउँदै छ महिना म्याद थपिएको थियो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङस्थल कालोपत्रेसमेत भइरहेको छ ।

कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि बसपार्क निर्माणको कामले अन्तिम रूप लिएको निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीका आधिकारिक प्रतिनिधि प्रकाश तिमिल्सनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२१-०६-२४ , समय : ०७:०६:४९ , ३ वर्ष अगाडि