संविधानको दिगो सम्वर्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा

Enepal Patra Pvt. Ltd. , ५३८  पटक हेरिएको

मकवानपुर, २४ वैशाख (रासस) । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्वद्र्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताउनुभएको छ । आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले नेकपा ९एमाले० को सङ्गठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताहरुले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले सङ्घीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरी कोभिड–१९ को सङ्क्रमित बिरामीलाई उपचार सेवा पु¥याउनेतर्फ एकमात्र लक्ष्य राख्नुपर्ने बताउनुभयो ।

यसैगरी नेपाली काँग्रेस, नेकपा९माओवादी केन्द्र० लगायतका पार्टीहरुको साझा उम्मेदवारका रुपमा रहनुभएका डा खिमलाल देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभयो । उहाँले प्रदेशको भूमिकालाई अझै जनमुखी, पारदर्शी र जिम्मेवार बनाउनु पर्नेमा जोड दिंदै जनताको बृहत् सहभागिताबाट ल्याइएको गणतान्त्रिक व्यवस्थालाई जीवन्त राख्न राजनीतिक दलहरुमा इमान्दारिताको खाँचो औँल्याउनुुभयो ।

यस्तै अर्का उम्मेदवार नेपाल मजदूर किसान पार्टीका नेता कृष्णबहादुर तामाङले पनि आफूलाई पार्टीले दिएको निर्देशनबमोजिम उम्मेदवारी दर्ता गरेको बताउनुभयो । देशको संविधान, ऐन तथा कानूनलाई आत्मसात् गर्दै नेपाली जनताको हितमा सधैँ स्वार्थरहित भएर अगाडि बढ्ने उहाँले दृढता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०२१-०५-०७ , समय : १४:३४:५८ , ३ वर्ष अगाडि