ओलीलाई साथ दिनेहरु दास : नेपाल

Enepal Patra Pvt. Ltd. , ३८८  पटक हेरिएको

काठमाडौं, २७ चैत  । नेकपा एमालेका नेता माधवकुमार नेपालले विधान विपरीत काम गर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेता नेपालले ओलीलाई साथ दिनेहरु दास भएकाले समानान्तर कमिटी गठनका लागि विराटनगर आएको बताउनुभयो ।

अध्यक्ष ओलीले विधान विपरीत काम गर्दै हिँडेकाले सामानान्तर कमिटी गठन गर्न शुरु गरेको उहाँको भनाइ छ ।

आफहरु ओलीको दास हुन नसक्ने भन्दै नेता नेपालले संगठित भएर विरोध गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै २०७५ साल जेठ २ को अवस्थामा पार्टी फर्किनु पर्ने बताउनुभयो ।

गलत प्रवृत्तिको मूलवाहक ओली शैलीबाट देशले मुक्ति पाओस् भन्ने चाहनाले पार्टीका नेता तथा कार्यकर्तामा आशा जगाउन एकता अभियानमा अघि बढेको नेपालले बताउनुभयो ।

ओलीले पार्टी र देशलाई अस्तव्यवस्त बनाइदिएको भन्दै उहाँले कारबाहीमा परेका सबै नेता तथा कार्यकर्तालाई निराश र हतास नभई पार्टीमा लागिरहन आग्रह गर्नुभयो ।

नेता नेपालले ओलीले भक्तजन, भजनमण्डलीबाहेक कसैलाई पनि नसहने आरोप लगाउँदै उहाँमा असहिष्णुताको प्रवृत्ति चरम उत्कर्षमा पुगेको आरोप लगाउनुभयो ।

राजनीतिक निकासका लागि निर्वाचनमा गइहाल्ने बेला नभएको नेता नेपालको भनाइ छ ।

ओली अहिले पार्टीभित्र अल्पमतमा परेकाले अन्य केही उपाय छ कि भन्ने खोजीमा रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०२१-०४-०९ , समय : १६:२४:५३ , ३ वर्ष अगाडि