भारतबाट सस्तोमा तरकारी र टमाटर आउँदा नेपाली उत्पादन बारीमै कुहिँदै

Enepal Patra Pvt. Ltd. , ८३३  पटक हेरिएको

हरिप्रसाद कोइराला

उर्लाबारी, १२ फागुन । भारतबाट सस्तो टमाटर भित्रिएपछि नेपाली तरकारी किसानको टमाटर बारीमै कुहिन थालेको छ । माघ दोस्रो सातासम्म प्रति केजी २० रुपियाँमा ब्यापारीले बारीबाट उठाउँदै गरेको टमाटर माघको तेस्रो सातादेखि प्रति केजी १० रुपियाँमा पनि बिक्री हुन छोडेको छ । टमाटर मात्र होइन ब्रोकाउली, बन्दा र आलुसमेत भारतबाट सस्तो मूल्यमा आउँदा किसानको छटपटी सुरु भएको छ । पूर्वी तथा उत्तरी मोरङका ब्यावसायिक तरकारी उत्पादक किसानहरू भन्छन् – मल,बीउ र प्रविधि होइन अब स्थानीय सरकारले बजारको ब्यवस्था गरिदिनुपर्छ । लेटाङ–८ जाँतेका टमाटर उत्पादक किसान टेकबहादुर निरौलाले भन्नुभयो– प्रतिकेजी १० रुपियाँमा पनि बिक्री हुन छोड्यो ।४ कट्ठामा टमाटर खेती गरेर वार्षिक ३ लाख रुपियाँ आम्दानी गर्नुहुने निरौलाले फागुन लागे यता कोही ब्यापारी सोध्न समेत नआएको बताउनुभयो ।

उता उर्लाबारी–६ को पाठशाला कृषि सहकारी संस्थाले गरेको तरकारी खेतीबाट यो वर्ष ७ लाख बढी घाटा हुने भएको छ । अध्यक्ष दुर्गाप्रसाद खतिवडाले भन्नुभयो – १ हजार बोट रोपेको टमाटरबाट सामान्यतया ७० हजार किलो उत्पादन हुन्छ । अहिलेसम्म १ लाख रुपियाँको पनि बिक्री गर्न सकेका छैनौँ । माघ दोस्रो साताबाट उत्पादन सुरु भयो । त्यही बेलादेखि भारतबाट ६ रुपियाँ किलोको टमाटर भित्रियो । अहिले प्रति केजी १० रुपियाँमा बिक्री गर्न खोज्दा पनि बिक्री भएको छैन् । भारतबाट आउने टमाटर नेपाली बजारमा ल्याई पु(याउँदा ६ रुपियाँ केजीमा आइपुग्ने गरेको बील विजक नै ब्यापारीले देखाएपछि हातगोडा गलेको अध्यक्ष खतिवडाको भनाइ छ । उहाँले भन्नुभयो– निजी जग्गामा गरेको हो भने प्रति केजी १२ देखि १५ रुपियाँ पर्छ । अझ भाडाको जग्गामा उत्पादन भएको हो भने २५ रुपियाँ पर्छ । उहाँले सुरुको एक हप्ता मात्र प्रति केजी ३५ रुपियाँका दरले टमाटर बिक्री भएको बताउनुभयो । उर्लाबारी ६ स्थित पाठशाला कृषि सहकारीको तरकारी बारी यतिबेला टमाटर पाकेर रातै छ । तर, ब्यापार छैन । उहाँले टमाटर सडकमा किन फाल्छन् भन्ने प्रश्नको जवाफ भेटेको बताउनुभयो ।

आइतबारदेखि मङ्गलबारसम्मका हाटबजारमा प्रति केजी २५ रुपियाँमा टमाटर बिक्री भइरहेको तरकारी ब्यापारी गजेन्द्र अधिकारीले बताउनुभयो ।नेपाली उत्पादन महँगो पर्ने भएकोले बढी नाफा कमाउन भारतीय उत्पादन बेच्ने गरेको ब्यापारीकोे भनाइ छ ।

टमाटर विराटनगर र काकरभिट्टा नाकाबाट भन्दा झापा र मोरङ जिल्लासँग जोडिएका भारतीय गाउँबाट आउने गरेको किसानहरू बताउँछन् । गतवर्षको यही समयमा पथरीशनिश्चरे ६ का तरकारी किसान बालकृष्ण राजवंशीले आलु र काउली ५० रुपियाँ प्रति किलोमा बिक्री गर्नुभएको थियो । यस्तै ब्रोकाउली ६० रुपियाँ, टमाटर ५०,मुला २०,इस्कुस ३० रुपियाँमा बिक्री गर्नुभयो तर,आफ्नो उत्पादन आफैं बिक्री गर्ने किसानहरू पनि सन्तुष्ट छैनन् । आफैं उत्पादन गरेर आफैं बिक्री गर्ने अर्का ब्यापारी इन्द्रजीत मण्डलले भन्नुभयो– यताबाट दूध लिएर भारत जाने उताबाट त्यही क्यानमा तरकारी बोकेर आउने र बिक्री गर्ने गर्छन् । भारतमा सबै कुरा सस्तो छ, हामी प्रतिस्पर्धा नै गर्न सक्दैनौं मण्डलले गुनासो गर्नुभयो ।

प्रकाशित मिति: २०२१-०२-२४ , समय : १३:२३:०१ , ३ वर्ष अगाडि