१४ ओैं महाधिवेशन भदाै ७ देखि १० सम्म

Enepal Patra Pvt. Ltd. , ६५३  पटक हेरिएको

काठमाडौं ,६ फागुन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौँको ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ । फागुन पहिलो साता महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नहुने भएपछि त्यसलाई परिमार्जन गर्दै काँग्रेसले भदौँ पहिलो साता महाधिवेशनको प्रस्ताव गरेको हो ।
बैठकका पार्टीका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मितिको प्रस्ताव बैठकमा गर्नुभएको थियो । यसका साथै पार्टीको महाधिवेशन अन्तरगत बडास्तरको अधिवेशन असार २० गतेबाट प्रारम्भ गर्ने प्रस्ताव बैठकमा गरिएको छ ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधिन विषयमा धेरै विवाद गर्न नहुने विचार व्यक्त गर्नुभएको थियो । साथै अदालतको फैसला अनुसरण गर्दै पार्टी अघि बढ्नुपर्ने विचार बैठकमा राख्नुभएको थियो ।
बैठकमा सभापति देउवाभन्दा फरक मत राख्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा राजनीतिक रुपमा गम्भीर परिस्थितिमा रहेको उल्लेख गर्दै त्यसको दायित्व नेपाली काँग्रेसले लिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । बैठकमा पौडेलले यस अवस्थामा प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा पार्टीले आधिकारिक निर्णय नै गर्नुपर्छ भन्नेमा जोड दिनुभएको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिनुभयो । बैठकमा पौडेलले मोही माग्ने तर ढुङ्ग्रो लुकाउने काम गर्न नहुने भन्दै यस राजनीतिक विषयमा कार्यकर्तालाई स्पष्ट पार्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति देउवाको हालको कार्यकाल छ महिना थप गर्ने प्रस्ताव समेत गरिएको छ । देउवा नेतृत्वको पार्टीको केन्द्रीय कार्यसमितिको पाँच वर्षको कार्यकाल आगामी फागुन १० गते सकिदैछ । यसअघि पार्टीले एक वर्ष कार्यकाल थप गर्ने निर्णय गरेको थियो । काँग्रेसको विधान अनुसार पार्टीको कार्यसमितिको कार्यकाल चार वर्ष हो । बैठकमा पार्टीको विधान संशोधन गर्ने प्रस्ताव समेत बैठकमा राखिएको जनाइएको छ । पार्टीको केन्द्रीय समितिको बैठक बिहीबार ३ बजे पुनः बस्ने जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।

 

प्रकाशित मिति: २०२१-०२-१८ , समय : ११:०७:५१ , ३ वर्ष अगाडि