टाइव्रेकरमा गाईघाटको जित

Enepal Patra Pvt. Ltd. , ८११  पटक हेरिएको

हरि कोइराला
कानेपोखरी(मोरङ), २५ माघ । टाइव्रेकरमा शसस्त्र प्रहरी बल पकलीलाई ४–३ गोल अन्तरले पराजित गर्दै गाइघाट फुटबल क्लब उदयपुर मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
मोरङको कानेपोखरी–७ स्थित जनकल्याण माविको खेल मैदानमा जारी आजको खेल निर्धारित ८० मिनेटमा १–१ गोलको बराबरीमा सकिएको थियो । ८० मिनेटमा खेलको अन्तिम निर्णय नभएपछि सिधै टाइब्रेकरबाट अन्तिम निर्णय भएको हो । टाइब्रेकरमा गाइघाटका लागि लक्ष्मीप्रसाद पञ्जियार,रुद्र कार्की, शरदकुमार राई र नवल तामाङले गोल गरे । गाइघाटका सूनील खड्काको प्रहार शसस्त्रका गोल रक्षक नवीन चौधरीले बचाए । उता शसस्त्रका बलराम निरौला, विवेक थापा,उज्जवल चाम्लिङको प्रहार गोलमा परिणत भयो भने सविन थापा र नवीन चौधरीको प्रहार गाइघाटका गोलरक्षक प्रज्वल शेर्पाले असफल बनाइ दिए ।
यस अघि खेलको तेस्रो मिनेटमा गाइघाटका दीपेश कट्वालले शसस्त्र विरुद्ध पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए  । तर, गाईघाटले अग्रतालाई ६ मिनेट पनि बचाउन सकेन । गाइघाट विरुद्ध शसस्त्र प्रहरी बलले ९ औं मिनेटमा उत्कृष्ठ गोल फर्काउँदै खेललाई पुन १–१ गोलको बराबरीमा पु¥या । शसस्त्रका सुदेश जवेगुले गाईघाटका तीन खेलाडीलाई बीट गर्दै दर्शनीय ढंगले गोललाई जाली चुमाउँदा खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।
आजको खेलमा गाइघाट फुटबल क्लब उदयपुरका शरदकुमार राई म्यान अफ द म्याच घोषित भए । उनलाई कानेपोखरी–७ का वडाध्यक्ष मोहनप्रसाद अघिकारीले २ हजार नगद सहित ट्रफि प्रदान गर्नुभयो । सोमबार सैनिक फुटबल क्लब झापा र डाँगीहfट फुटबल क्लब बेलबारी बीच खेल हुनेछ ।

 

प्रकाशित मिति: २०२१-०२-०७ , समय : १८:२९:३४ , ३ वर्ष अगाडि