बहुदेश्यीय कारोवारमा जोड दिन आग्रह

१० लाख ८३ हजार ८६ रुपियाँ शुद्ध बचत

Enepal Patra Pvt. Ltd. , १६५९  पटक हेरिएको

उर्लाबारी, १८ साउन । मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्था लि.उर्लाबारी ७ मोरङको सातौ साधरण सभा एवं स्थापना दिवश शनिबार सम्पन्न भएको छ । उर्लाबारी उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको कार्यक्रमको उद्घाटन गर्दै उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले बहुदेश्यीय सहकारी संस्थाहरूले बहदेश्यीय कारोवार गर्न नसकेको औल्याउनु भयो । उहाँले नगरपालिकाले सहकारी कार्यविधि तयार गरी सकेको भएपनि त्यसलाई कार्यान्वयन गर्न नसकिरहेको बताउनु भयो ।

सहकारी संस्थाले आयोजना गर्ने भ्रमणहरू फलदायी नभएको बताउँदै भ्रमणमा देखेर र सिकेर आएका बिषय ब्यबहारमा लागु गर्न उहाँले आग्रह गर्नुभयो । सहकारी संस्थाबाट सदस्यलाई गुणस्तरीय सेवा दिनु पर्नेमा जोड दिँदै नगरपालिकाले सहकारीलाई गर्ने सबैखाले सहयोग गर्न नगरपालिका तयार भएको बताउनु भयो । सहकारी अभियन्ता तेजकुमार रिजालले कारोवार अनुसार शुद्ध बचत कम भएको बताउनु भयो । भूमि ब्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश १ का प्रतिनिधि रामप्रसाद चापागाईले सहकारी ऐन आइसकेकोले २०७७ असोज सम्ममा एक ब्यक्ति एक सहकारी कार्यन्वयन भएरै छोड्ने बताउनु भयो । उहाँले एउटै प्रकृतिका सहकारीमा दोहोरो सदस्यता भए छनौट गरेर एउटामा मात्र सदस्य बन्न आग्रह गर्नुभयो ।
उद्घाटन सत्रमा उर्लाबारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली ,वडा नं ७ का वडाध्यक्ष वीरवल थापा र उर्लाबारी सहकारी सञ्जालका अध्यक्ष सीता कार्कीले शुभकामना दिनु भएको थियो ।
संस्थाका अध्यक्ष धु्रवचन्द्र पराजुलीले गत वर्षको प्रगती प्रतिवेदन र आगामी आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । २ हजार ७ सय ५० जना सदस्यहरू रहेको सहकारी संस्थाले गत आवमा ४८ करोड७१ लाख २४७ रुपियाँको आर्थिक कारोवार गरी १० लाख ८३ हजार ८६ रुपियाँ शुद्ध बचत गरेको छ । संस्थामा ९९ लाख ८१ हजार ९ सय रुपियाँ शेयर पुँजी रहेको छ भने ३करोड ७९ लाख ८६ हजार१३५ रुपियाँ निक्षेप रहेको छ ।
संस्थाले गत आवमा उत्कृष्ठ कारोवार, बचत गर्ने , उतकृष्ठ अंक लयाउने विद्यार्थीलाई सोही अवसरमा पुरस्कार प्रदान गरेको थियो ।

प्रकाशित मिति: २०१९-०८-०४ , समय : ११:५१:०० , ५ वर्ष अगाडि