विप्लव समूहप्रति सरकार कठाेर हुने संकेत, सेनाकाे पनि निगरानी

Enepal Patra Pvt. Ltd. , ४५०  पटक हेरिएको

काठमाडौं। मोरङको मिक्लाजुङ गाउँपालिकामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले शिक्षकको हत्या गरेपछि सरकार सो समूहप्रति कडा रुपले प्रस्तुत हुने संकेत गरेका छ।

विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अस्थायी बेसक्याम्प स्थापना गरेसँगै देशभर प्रहरीले सो समूहप्रति निगरानी बढाएर कडा हुने संकेत गरेको हो।

गृहमन्त्रालयले श्रेष्ठको हत्यासँगै प्रहरी महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई मन्त्रालयमै बोलाएर विप्लव समूह नियन्त्रणका लागि देशभर प्रहरी परिचालन गर्न निर्देशन दिएको हो।

नेपाल प्रहरीले देशभरका सबै यूनिटलाई विप्लव समूहका गतिविधि र कर्यकर्ताहरुलाई निगरानी राख्न र सकेसम्म पक्राउ गर्न निर्देशन दिइसकेको छ। साथ साथै मन्त्रालयले मोरङको मिक्लाजुङ १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको हत्या भए लगतै मिक्लाजुङ १ स्थित आइतबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा वेस राखेको छ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३६ सशस्त्र र नेपाल प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको टोली खटाएको छ। आपतकालीन अवस्थामा परिचालन गर्न मिल्ने गरी थप ‘रिजर्ब फोर्स’ पनि तयारी अवस्थामा पठाएको छ। त्यहाँ दुवै टोलीले विप्लव समूहविरुद्ध संयुक्त रुपमा सर्च अप्रेशन चलाएको छ।

गृहमन्त्रालयले श्रेष्ठको हत्यासँगै प्रहरी महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई मन्त्रालयमै बोलाएर विप्लव समूह नियन्त्रणका लागि देशभर प्रहरी परिचालन गर्न निर्देशन दिएको हो।

विप्लव समूहले घरैबाट अपहरण गरेर लगेका शिक्षक श्रेष्ठलाई आफ्नै नियन्त्रणमा राखेर घाँटी रेट्दै गत हप्ताको मंगलबार बिहान विभत्स हत्या गरेको थियो। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमितेलगायत क्षेत्र र छिमेकी जिल्लामा पनि सर्च अप्रेशन चलाएको थियो। तर हत्या गर्ने सो समूहलाई भने अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

गत २०७५ फागुनमा सो समूहले ललितपुरको एनसेल गेट र वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा विस्फोट गरी एक जनाको ज्यान लिएपछि सरकार आक्रमक रुपमा प्रस्तुत भएको थियो। त्यसलगत्तै सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएर सुरक्षा फौजको संयन्त्र कडा रुपमा प्रस्तुत हुन थालेको थियो।

गाउँ–गाउँमा विप्लवका नेता–कार्यकर्ताविरुद्ध ‘सर्च एण्ड अरेस्ट अपरेसन’ चलाइएको थियो। पछिल्लो दुईवर्ष यता देशभरबाट विप्लव समूहका करिब दुई हजार कार्यकर्ता पक्राउ परिसकेका छन्। अहिलेपनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई निगरानीमै राखेको छ।

गृहमन्त्रालयका प्रवक्ता गृह चक्रबहादुर बुढाले कानुन विपरित कार्य गर्ने जो कोहीलाई पनि सुरक्षा निकायले कानुनी कारवाहीको दायरामा ल्याउने बताए। उनका अनुसार संविधान विपरित कार्य गर्नेहरुलाई सुरक्षा निकायले निगरानीमा राखिरहेको पनि बताए।

‘जुनसुकै व्यक्ति वा समूह भए पनि संविधान र कानुनले बर्जित गरेका गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनेछ’, प्रवक्ता बुढाले भने। उनले मिक्लाजुङ घटनामा संलग्नको पनि खोजीकार्य भइरहेको उनले बताए।

‘प्रतिबन्धित समूहका गतिविधि हिंसात्मक हुँदै जानुलाई मन्त्रालयले गम्भीर रूपमा लिएको छ संविधान र कानुनविपरीतका गतिविधि नियन्त्रण गर्न सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ,’ प्रवक्ता बुढाले भने।

सुरक्षा निकायले देशभर विप्लव समूहविरुद्ध कडा निगरानी सुरु गरेसँगै सो समूहको सक्रियता बढी रहेका जिल्लामा सुरक्षा सक्रियता बढाइएको छ। चेकजाँच, गस्ती लगायत प्रहरी कारवाही अघि बढेको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले कतिपय स्थानमा सामूहिक गस्ती परिचालन गरेका छन् भने राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले पनि गोप्य रुपमा गतिविधिको निगरानी, सूचना संकलन लगायतका काम गरिरहेका छन्।

विप्लव समूह आन्तरिक रुपमा चुनौती बन्दै गएको सुरक्षा निकायको निष्कर्ष छ। प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुवँरले विप्लव समूहका गविविधिमाथि कडा निगरानी सुरु गरिएको बताएका छन्। सरकारले दिएको निर्देशन अनुसार प्रहरी परिचालन भैरहेको उनले बताए।

‘विभिन्न घटनामा संलग्न रहेकाहरुलाई पक्राउ गर्ने, अनुसन्धान गर्ने, मुद्दा चलाउने, गोप्य सूचना संकलन गर्ने लगायतका काम भइरहेका छन्,’ प्रवक्ता कुँवरले भने। विप्लव समूहका गतिविधिमा पूर्ण रोक र निगरानी, शंकास्पद स्थानमा गस्ती पेट्रोल गर्ने काममा तिव्रता आएको पनि कुवँर जानकारी दिए।

नेपाली सेनाको पनि निगरानी
नेपाली सेनाले पनि विप्लव समूहको गतिविधिलाई निगरानी राख्न निर्दैशन दिएको छ। प्रधानसेनापछि पूर्णचन्द्र थापाले विभिन्न गण र गुल्मको भ्रमणको क्रममा मातहत निकायलाई संविधान विरोधी कार्य गर्ने समूहको निगरानी राख्न निर्देशन दिएको स्रोतले जनाएको छ।

प्रधानसेनापति थापा पूर्वी पृतना अन्र्तगतका विभिन्न गण र गुल्मको भ्रमणका रहेका थिए। मंसिरको १६ गते पश्चिम पृतनाको भम्रमणका रहेका थापाले पनि आफ्नो क्षेत्रमा सुरक्षा चुनौति बढ्यो भने त्यसको निगरानी राखेर माथिल्लो तहमा रिपोटिंग गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति: २०२०-१२-१५ , समय : १२:१४:४२ , ३ वर्ष अगाडि