‘पञ्चायतमा रुख रोप्दा टाउको फुट्थ्याे, कम्युनिष्ट शासनमा पुल उद्घाटन गर्दा करङ्ग भाँचिन्छ’

Enepal Patra Pvt. Ltd. , ६४२  पटक हेरिएको

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अभिनायकवाद, तानाशाही शासन र सर्वसत्तावाद हाबी हुन लागेको बताएका छन्। काठमाडौंको शान्तिवाटिकामा सरकारविरुद्ध नेपाली कांग्रेसको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले जनताले सडकमा आएर त्यसको विरोध गरेको बताएका छन्।

‘देशभरी ठूलो संख्यामा जनताहरु सडकमा आएका छन्। सब जनता जुर्मुराएका छन्। यो नेपाली जनताको जागरणको सन्देश हो,’ नेता पौडेलले भने, ‘राजाको निर्दलीय पञ्चायतका बेला रुख रोप्दा टाउको फुट्थे, आज कम्युनिष्ट सरकारको सर्वसत्तावादको समयमा पुल बनाउँदा करङ भाँचिदैछ।’

‘यो बिडम्बना हो। यी अधिनायकवादका पाटा हुन्,’ उनले थपे, ‘देशमा भ्रष्टाचार बढेको छ। असुरक्षा बढेको छ। लुटको लागि कम्युनिष्ट सरकारलाई छुट भएको छ। सरकारले सत्ताको दुरुपयोग गरिरहेको छ।’

कार्यक्रममा नेता पौडेलले नेपाली जनताले लडेर ल्याएको संविधान र सपूतहरुको अथक प्रयासबाट कायम भएको व्यवस्था आज खलबलाउने दुस्साहस हुन लागेको बताए। यो ठूलो चिन्ताको विषय भएको बताउँदै उनले संविधानले स्थापित गरेको जनताको अधिकारमाथि प्रहार भइरहेको जानकारी दिए।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि पहिलो प्रहार सर्वसत्तावादी कम्युनिष्ट सरकारले गर्दैछ। दोस्रो प्रहार यो देशका प्रतिगामी तत्वहरुले गर्दैछन्। तेस्रो प्रहार हिजोको माओवादीको भद्दा नक्कल गर्ने विप्लव समूहले गर्दैछ,’ उनले भने, ‘यिनीहरु लोकतन्त्रलाई मान्न नसक्ने, जनताको अधिकारको सम्मान गर्न नसक्ने तत्व हुन्। यी सबै प्रतिक्रियावादी र प्रगितामी तत्वहरुसँग कांग्रेसको पूर्ण असहमति छ।’

उनले नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने बताएका छन्। ‘हामी समाजवादी हौं। समाजवादीको स्वर्ग भविष्यमा हुन्छ, प्रतिक्रियावादीको स्वर्ग अतीतमा हुन्छ। हामीको भविष्यको स्वर्ग खोजिरहेका छौं,’ उनले भने।

लोकतान्त्रिक देश नेपालको शासकहरु लोकतन्त्रवादी नभएको उनले दावी गरे। वर्तमान अवस्थामा लोकतन्त्र, संघियता र समावेशीता संकटमा पार्ने काम भइरहेको बताउँदै उनले नेपाली कांग्रेसले त्यो हुन नदिने स्पष्ट पारे।

कम्युनिष्टको इच्छाअनुसार चल्न नमान्नेलाई देशका बाँच्न नै मुश्किल भएको उनले बताए। ‘कम्युनिष्टको ईसारामा नचल्नेहरुलाई संन्त्रासमा राखिएको छ। देशलाई कब्जा गर्ने दुस्साहस केपी ओलीको सरकारले गरेको छ,’ उनले भने सरकार कम्युनिष्ट पार्टीको हो। तर, राज्य साम्यवादी होइन नि।’

सरकारले प्रहरी प्रशासनलाई आफ्नो इशारामा चलाएको र सरकारले जसलाई पक्रिन भन्यो प्रहरीले त्यसलाई पक्राउ गरेको पौडेलले आरोप लगाए। वाइडबडी प्रकरणदेखि लिएर न्यारो बडी, ओम्नी गोकर्ण रिसोर्टजस्ता ठूला–ठूला भ्रष्टाचारमा सरकार मुछिएको उनले बताए। त्यसकारण ओली सरकार इतिहासकै नालायक सरकार भएको उनको दावी छ।

‘बुद्धिजीवीले भनिसकेका छन्। कम्युनिष्ट पार्टीकै नेताहरुले भनिसकेका छन्, यो नालायक सरकार हो। ट्रान्सप्यारेन्सी इन्टरनेशनलले देखाइसक्यो सरकार कति भ्रष्टाचारी छ भनेर,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट भएको छ। शक्तिको दुरुपयोग गर्दै सरकार भ्रष्टाचारमा तल्लीन भएको हो।’

त्यस्तै, कांग्रेसले पनि सरकार चलाएको र तर त्यसबेला कांग्रेसले आफैँले कानुन बनाएर आफूले गरेको गल्तीको सजाय भोगेको उनले बताए। ‘कांग्रेसका मन्त्रीले अख्तियारको प्रस्ताव पेस गरेर त्यही कानुनबाट आफैँले हतकडी लगाएका छन्। लोकतन्त्रमा तेरो मेरो हुँदैन,’ उनले भने, ‘यस्तो लोकतान्त्रिक दृष्टाण्त कांग्रेसले देखाएको छ। तर, मन्त्रीले भ्रष्टाचार गर्दा हाम्रा प्रधानमन्त्री आफैं ढाकछोपमा उत्रिन्छन्।’

नेता पौडेलले सरकारले गलत प्रवृत्ति नसुधारेमा कांग्रेस आगामी दिनमा थप शसक्त हुँदै आन्दोलनमा होमिने बताएका छन्। गलत शासन र कुव्यवस्थाविरुद्ध लडेर गर्विलो इतिहास लेखेको कांग्रेस अन्याय, अत्याचार, भ्रष्टचार र सर्वसत्तावादविरुद्ध लड्न सदैव तयार रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: २०२०-१२-१४ , समय : २०:२४:१७ , ३ वर्ष अगाडि