अध्यक्ष र प्रधानमन्त्री पद बचाउन ओलीका अनेकन फण्डा

Enepal Patra Pvt. Ltd. , ५८१  पटक हेरिएको

काठमाडौं, २८ मंसिर । सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दुवै पद बचाउन अनेकन फण्डा बाहिर ल्याइरहेका छन् ।

अनौपचारिक रुपमा ल्याइएका फण्डाले उनको पद जोगाउन सक्छ कि सक्दैन भन्ने त २८ गतेको स्थायी समिति बैठकसम्म कुनैपर्छ ।

तर, उनले पद बचाउन कुनै कसुर बाँकी नराख्ने तवरबाट अगाडि बढेका छन् । सचिवालयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच राजनीतिक प्रतिवेदनमा आरोप प्रत्यारोप चलेपछि विवाद स्थायी समितिसम्म पुगेको छ ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर सहजै पार्टीमा आफ्नो विरुद्धमा गठजोड बनाएका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जिल्लै पार्ने रणनीति बनाएका ओर्ली राष्ट्रपति विद्यादेवी भण्डारीले सादथ नदिएपछि अनेकन फण्डा ल्याउन बाध्य बनेका हुन् ।

भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश आफूले प्रमाणित नगर्ने अडान लिएपछि ओलीले अरु जुत्ति लगाएर पद बचाउने ध्याउन्नमा लागेका छन् ।

प्रधानमन्त्री ओलीले गत शुक्रबार साँझ आफूलाई सहयोग गर्न आग्रह गरेको तर, राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणित गर्न नसक्ने जवाफ पठाएको स्रोत बताउँछ । त्यसपछि ओली अर्को फण्डातर्फ लागेका हुन ।

अध्यादेशको फण्डा काम नलागेपछि प्रधानमन्त्री ओलीले आफ्नो विरुद्धमा गठजोड बनाएका नेताहरुका लागि विभिन्न अफर फ्याकेका छन् ।

स्रोतहरुका अनुसार उनले सचिवालयमा सदस्यको संख्या बढाउने, मन्त्रिपरिषद्मा फेरवदल गर्ने र केही मुख्यमन्त्री परिवर्तन गर्न आफू तयार रहेको अनौपचारिक प्रस्ताव असन्तुष्ट पक्षसम्म पु¥याएका हुन् ।

आफ्ना विश्वासपात्रद्वय शंकर पोखरेल र सुवासचन्द्र नेम्वाङमार्फत अनौपचारिक रुपमा ति प्रस्ताव अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसम्म पु¥याएका निकटस्थ स्रोतले बतायो । स्रोतले ओलीले सचिवालयमा ४ जना थपेर १३ सदस्य पु¥याउन सकिने बताएका छन् । थपिने पात्रको नाम पनि ओलीले प्रस्तावका रुपमा दिएको स्रोतले बतायो ।

त्यो स्रोतका अनुसार ओलीले अष्टलक्ष्मी शाक्य, कृष्णबहादुर महरा, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेलको नाम प्रस्तावका रुपमा अघि ल्याएका हुन् । प्रस्ताव गरिएकामध्य शाक्य नेता नेपाल, महारा प्रचण्ड र पोखरेल तथा नेम्वाङ ओली समूहका हुन् । महराबाहेक अहिले सबै स्थायी समितिमा छन् ।

त्यस्तै ओलीले विवाद मिल्ने र आफ्नो पद बच्ने शर्तमा बाग्मती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री परिवर्तन गरेर भागवण्डा मिलाउन पनि आफू तयार रहेको सन्देश प्रचण्ड र नेपालसम्म पु¥याएका छन् । त्यस्तै कर्णाली प्रदेशको मुख्यमन्त्री पनि फेर्नुपर्ने सर्त ओलीको रहेको स्रोतहरु बताउँछन् ।

ओलीले मन्त्रिपरिषद्मा पनि फेरवदल गर्न सकिने प्रस्ताव ल्याएका छन् । आफ्ना पक्षका मान्छेलाई हटाएर नेपाल र प्रचण्ड पक्षका दुई दुई मन्त्री थप्न आफू राजी भएको ओलीको प्रस्ताव रहेको नेपाल निकट स्रोतले बतायो ।

यी सबै काम गर्नका लागि आफ्ना दुवै पद भने जोगिनु पर्ने ओलीको भनाइ छ । पद जोगिने शर्तमा मात्रै आफूले यी काम गर्ने र लिखित सहमति नै गर्नु परेपनि गर्न तयार रहेको उनले प्रस्ताव पु¥याएका हुन् ।

सचिवालयमा स्पष्ट रुपमा अल्पमतमा परेका ओली स्थायी समितिमा पनि अल्पमतमा छन् । त्यहाँबाट पनि आफूविरुद्ध निर्णय भएमा समस्यामा पर्ने भएपछि विभिन्न अफर बाहिर ल्याएका बताइन्छ । अभियान टाइम्सका साथमा ।

 

प्रकाशित मिति: २०२०-१२-१३ , समय : १३:०८:३० , ३ वर्ष अगाडि