वृद्धभत्ता पाएको पैसाले विपन्नलाई सिरक

Enepal Patra Pvt. Ltd. , ५५९  पटक हेरिएको

लेटाङ, २४ मङ्सिर । माेरङकाे लेटाङ ९ जाँते निवासी नेकपाका नेता डिल्ली विश्वकर्माले बढ्दै गरेको चिसोबाट बच्नका लागि अति विपन्न परिवारलाई सिरक वितरण गर्नु भएको छ । नेकपा लेटाङ नगर कमिटी सचिव तथा मोरङ जिल्ला कमिटि सदस्य समेत रहेका विश्वकर्माले आफुले पाएको सामाजिक सुरक्षा भत्ताको रकम खर्च गरि १६ घर विपन्न परिवारलाई जाडोबाट बच्न सिरक वितरण गर्नु भएको हो । आफु र श्रीमती लक्ष्मी विकले ६० वर्ष पुगेपछि पहिलो पटक पाएको प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ताको रकमलाई सदुपयोग गर्दै विपन्न परिवारलाई सहयोग गरेको उहाँले जानकारी दिनुभयो । तत्कालिन समयमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको सरकार बनेको समयमा सुरु भएको समाजिक सुरक्षा भत्ताका कारण धेरै वृद्धवृद्धा र असाहयहरुलाई राहत पुगेको भन्दै उहाँले सो कार्यक्रमको मर्म अनुसार नै आफुले पनि विपन्न परिवारलाई सिरक वितरण गरेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी लेटाङ ९ को आयोजनामा वडा कमिटि अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षता तथा नेकपा मोरङका सचिवालय सदस्य तथा नगर इञ्चार्ज भूपेन्द्र लावतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो कार्यक्रममा नेकपा लेटाङका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य कृष्ण लम्साल, जिल्ला कमिटी सदस्य तथा प्रदेश सांसद् उपेन्द्रप्रसाद घिमिरे, जिल्ला कमिटि सदस्य हस्तबहादुर राई, नेकपा लेटाङ कार्यालय सदस्य तथा लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौला, नेकपा लेटाङ कार्यालय सदस्य तथा लेटाङ ९ का वडाध्यक्ष कृष्ण लुइँटेल लगायत नेकपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो

प्रकाशित मिति: २०२०-१२-०९ , समय : १८:१६:०० , ३ वर्ष अगाडि