८६ सेन्टिमिटर अग्लियो सगरमाथा, सर्वोच्च शिखरको नयाँ उचाइ ८८४८.८६ मिटर

Enepal Patra Pvt. Ltd. , ३८३  पटक हेरिएको

काठमाडौं २३ मंसिर ।  नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा विश्वकै अग्लो हिमशिखर सगरमाथाको उचाइ मापन गरेको छ। उचाइ मापनसँगै नेपालले सगरमाथाको समुद्री सतहदेखिको उचाइ ८ हजार ८ सय ४८।८६ मिटर रहेको तथ्य आज सार्वजनिक गरेको हो।

नापी विभागको टोलीले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो। भारतले पहिलोपटक सन् १९५५ मा मापन गरेको आधारमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिँदै आएको छ। नेपालले त्यसलाई आधिकारिक मान्यता दिएको थियो।

सगरमाथाको उचाइ भने ११ पटक मापन गरिसकिएको छ। भारतले मात्रै ३ पटक मापन गरेको छ। त्यस्तै चीन र इटालीले २–२ पटक मापन गरेका छन्। अमेरिका, डेनमार्क लगायतका देशले पनि सगरमाथाको उचाइ मापन गरिसकेका छन्। ती मापनमा उचाइ फरक फरक थियो। त्यही कारण नेपाल आफैँले उचाइ मापन गरेको हो।

१५ करोड खर्चमा नापी विभागले अत्याधुनिक प्रविधिसहित ४ वटा प्राविधिक टोली परिचालन गरी २ वर्ष बढी समय लगाएर नापेको जानकारी दिएको छ।

२०७४र०७५ मा नेपाल सरकारले नीति तथा कार्यक्रममै सगरमाथाको उचाइ त्रिकोणात्मक, जीपीआरएस र हेलिकप्टरबाट मापन गर्ने उल्लेख गरेको थियो। सोही क्रममा सिरहाको माडरबाट उचाइ मापन सुरु गरिएको थियो। यो त्रिकोणात्मक विधिबाट मापन सुरु गरिएको थियो।

चिनियाँ राष्ट्रपति नेपाल आउँदा चीन र नेपालले आआफ्नै तरिकाले नापे पनि संयुक्त रुपमा उचाइ घोषणा गर्ने सहमतिअनुरुप संयुक्त रुपमा आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्टेट काउन्सिलर तथा चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन्।

नेपालले आफ्नै साधन र स्रोतमा पहिलोपटक उचाइ नापेको हो। त्यसको लागि नापी विभागका सर्वेयरहरुले नै जीपीआरएसको यन्त्र बोकेर सगरमाथाको शिखरसम्म पुगेका थिए। २०७६ जेठ ३ गते उनीहरुले आरोहण गरेका थिए।

दुवै देशले आआफ्नै तरिकाले मापन गर्दा पनि उचाइ उही निस्किएको हो। ०७२ वैशाख १२ को भूकम्पपछि विज्ञहरुले सगरमाथाको उचाइ घटेको हुनसक्ने बताउँदै आएका थिए। तर अहिले सार्वजनिक भएको उचाइले त्यसलाई गलत साबित गरेको छ।

छिमेकी मुलुक चीनले पनि उत्तरतर्फबाट सगरमाथाको उचाइ मापन गरिसकेको छ। सगरमाथाको उचाइमा फरक नआओस् भनेर दुवै देशले संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन्। चीनले सन् २००५ मा गरेको मापनको आधारमा अहिलेसम्म विश्वकै अग्लो शिखरको उचाइ ८ हजार ८ सय ४४‍‍.४४ मिटर रहेको जनाउँदै आएको छ।

उता अमेरिकाको नेशनल जियोग्राफिक सोसाइटीले सन् १९९९ मा मापन गरी सगरमाथाको उचाइ ८ हजार ८ सय ५० बताउँदै आएको छ। तर यसलाई नेपाल सरकारले अस्वीकार गर्दै आएको छ।

आज सार्वजनिक भएको नयाँ उचाइलाई नेपाल सरकारको मन्त्रिपरिषदले दुई साताअघि नै अनुमोदन गरेको थियो।

नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन्। उचाइ घोषणाको कार्यक्रम भर्चुअल रुपमा गरिएको थियो।

प्रकाशित मिति: २०२०-१२-०८ , समय : १४:५७:४२ , ३ वर्ष अगाडि