डोको बुनेरै बित्यो जिन्दगी

Enepal Patra Pvt. Ltd. , १९९३  पटक हेरिएको

गलेश्वर, १९ फागुन । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका ७० वर्षीय दलबहादुर विकले आफू जान्ने भएदेखि अहिलेसम्मको उमेर डोको बुनेरै बिताउनुभयो । जीवनका अनेकौँ घामपानी भोगेका विक अहिले डाँडामाथिको घाम जस्तै कति बेला अस्ताउने हो पत्तै छैन तर उहाँको जाँगर र जोश भने १६–१७ वर्षे जवानको जस्तो देखिन्छ ।

घरको पिँढीमा बसेर नातिनातिनी खेलाउँदै छोराबुहारीको कमाइ खाने बेलामा १०–१२ ओटा डोकाको भारी बोकेर बजारमा ग्राहक खोज्दै हिँड्न बाध्य हुनुहुन्छ उहाँ । “के गर्नु हजुर १ छोराबुहारीले हेरेनन्, सम्पत्ति छैन, बसेर खान पुग्दैन, त्यसैले यो उमेरमा पनि डोको बुनेर बेच्न हिँडेको छु,” विक भन्नुहुन्छ ।

विकले एक वटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री गर्नुहुन्छ । “अहिले पहिलेको जस्तो डोकाको बिक्री छैन, पहिला घरमै ग्राहकहरु खोज्न आउँथे, अहिले डोको बेच्न भारी नै बोकेर गाउँगाउँ चहार्नुपर्छ,” विकले बताउनुभयो ।

विकले आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुन्जेलसम्म ढोको बुनेर नै जीविका चलाउने बताउनुभयो । “अहिलेसम्म यसैबाट जीविका चलाएको छु, अब कति नै बाँचुला र रु बाँचुन्जेलसम्म जीउ सञ्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु,” विकले भन्नुभयो ।

हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने, बूढेसकालमा दिन बिताउने बाटो पनि यही डोको बुन्ने पेशा नै बनेको विकको भनाइ छ । डोको बुनेर आएको पैसाले दैनिक घर खर्च चलाउने र आफ्नी श्रीमतीको औषधि उपचारमा खर्च गर्ने उहाँको भनाइ छ । “छोराबुहारीले नहेरेपछि यही डोको बुनेर श्रीमती र म पालिएका छौँ,” विकले भन्नुभयो ।

बाध्यताले गर्दा जीवनको अन्तिम समयसम्म पनि डोको बुनेर बेच्नुपर्ने उहाँको अवस्था रहेको छ । ग्रामीण क्षेत्रमा डोको बुन्ने जनशक्ति नहुँदा बुनेका डोका भने गाउँगाउँसम्म पु¥याउन सक्ने हो भने बिक्रीको कुनै समस्या नभएको उहाँ बताउनुहुन्छ ।

प्रकाशित मिति: २०१९-०३-०३ , समय : १२:५६:४२ , ३ वर्ष अगाडि