‘क्यै हारेझैं, क्यै बिर्सेझैं,
को त्यो पथमा आइरहेको ?
सत्य नचिन्ने, झुट अँगाल्ने,
गिर्र्दै तलतल म उठें भन्ने,
मान्छे हो तर आत्माहीन,
को त्यो पथमा आइरहेको ?’

युगकवि सिद्धिचरण श्रेष्ठको उपर्युक्त कवितापछि नाट्यसम्राट् बालकृष्ण समले त्यसको जवाफमा ‘केही जितेझैं, केही सम्झेझैं, को त्यो पथमा गाइरहेको ? मानिस जस्तै सुरसुरु हिँड्दै, को त्यो पथमा गाइरहेको ?’ भन्ने सिद्धिचरणको ‘मेरो प्रतिबिम्ब’ र समजीको ‘प्रतिबिम्बप्रति’ को कवितात्मक वादविवादले नेपालका नवोदित साहित्यकारलाई सिर्जनात्मक बाटोमा प्रेरित गरेको थियो । सिद्धिचरणको यो कविताले राष्ट्रिय जीवनको चरितार्थ गराउँदछ । युगकविको जन्मजयन्तीको अवसरमा उनको कविता सम्झन्छु, ‘संसारमा अति बलिष्ठ मनुष्य को छ ? जो आफ्नु पयरमा उभिई खडा छ ।’

साहित्य एउटा सिर्जना हो । मानिसको जीवनमा कुनै न कुनै गहिरो छाप नपरी असल साहित्यको सिर्जना हुन सक्दैन । नेपाली साहित्यका अग्रणीमध्येका लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, भवानी भिक्षु, भीमनीधि तिवारी, धरणीधर कोइराला, महानन्द सापकोटा, सिद्धिचरण श्रेष्ठहरू नेपालको राष्ट्रिय एकताका द्योतक हुन्, यथार्थ । देशको स्वाभिमानप्रति आबद्ध भएरै उनीहरू विश्व साहित्यसँग दाँजिन पुगे । लिओ टोल्स्टाय, रविन्द्रनाथ ठाकुर, म्याक्सिम गोर्कीहरू यस्ता स्रष्टा छन्, जसलाई समयले जन्मायो । त्यस्ता साहित्यिक स्रष्टाहरूको परिकल्पनाले युगको प्रतिनिधित्व गर्ने गर्छ । सिद्धिचरण श्रेष्ठ पनि युगकवि हुन्, नागरिक हक र अधिकारका प्रणेता । १०५ वर्षअगाडि जेठ ९ मा सिद्धिचरणजीको जन्म भएको थियो ।

‘हिमगिरी मन्दित, सुगन्ध–

स्वभित जय जय आमा नेपाल’

आर्य, अनार्य, बौद्ध र हिन्दु मिश्रित

हाम्रो देश विशाल ।

कोसी, गण्डकी, कर्णालीको

नृत्य सरल कलकल गान,

जाग्रतक्षणको माया बिम्बित

उच्च कलाले चुम्बित प्राण ।’

सिद्धिचरणजीका कविता राष्ट्रिय जागरणप्रति सधैं प्रतिबिम्बित हुन्छन् । सिद्धिचरण श्रेष्ठका कविताले पे्ररणाका स्रोत र युगको प्रतिनिधित्व गरेका छन् । राष्ट्रवादको शिखरमा टेकेर प्रकृतिप्रेमका प्रतिभाशाली व्यक्ति हुन् । उनी मरेर गए पनि नेपालमा अजर, अमर छन् । सिद्धिचरण श्रेष्ठसँग पंक्तिकारको पहिलो भेट विसं. ०२४ मा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा भएको थियो, जहाँ बालकृष्ण सम, गोपाल पाँडे ‘असीम’, भवानी भिक्षुहरू एकआपसमा राष्ट्रिय दृष्टिकोणको चुरो खोज्नमा व्यस्त रहन्थे । ०२४ मंसिर २४ मा सिद्धिचरण श्रेष्ठले मेरो अटो–डायरीमा लेखेका थिए– ‘संकट पर्दछ मानिसलाई ढुंगालाई के हुन्छ, असिना आई फूलबारीकै फूलहरू पहिले झार्छ । जसको छाती जति विशाल त्यत्ति नै संकट उसलाई, गोली लाग्दछ बापुलाई नै केही हुँदैन अरूलाई ।’ यो मौलिक कविताले जसलाई पनि ढाडस दिने काम गर्छ । तर, नेपालको नयाँ पीडिमा सिर्जना र मौलिकताको अभाव बढ्दै गएको देखिन लागेकाले भविष्यमा यसले नकारात्मक बाटो लिन सक्ला भन्ने चिन्ता छ । स्मरणीय छ कि स्रष्टा भनेको कल्पनामा भारी बोक्ने प्राणी मात्र नभएर वास्तविकताका हतियार हुन्, जो कहिले गलत कुरामा कसैसँग सम्झौता गर्दैन ।

युगकवि सिद्धिचरणजीसँग ०२४ सालदेखि राम्रो सम्बन्ध कायम रहँदै आयो । युगकवि अत्यन्त सरल देशभक्त थिए । उनको व्यवहार, चरित्र र मेहनतबाट साहै्र प्रभावित भएको व्यक्ति हुँ म । नेपालको स्वाभिमान कायम राख्दै नेपालका हिजोका साहित्यकारको सिर्जनात्मक जागरणले अहिलेसम्म हामीले खुट्टा टेक्न पाएका छौं । उल्लिखित स्रष्टासँग जसले संगत गरेको छ, त्यसले यो राष्ट्रलाई कहिल्यै पनि धोका दिन सक्दैन ।

युगकवि सिद्धिचरणजीका कवितामा राष्ट्रिय जागरण प्रतिबिम्बित हुने भएकाले उनको ‘हिमगिरी मन्दित, सुगन्ध, स्वभित, जय जय आमा नेपाल’ नै ०६३ पछिको राष्ट्रिय गानमा परिणत होला भन्ने लागेको थियो तर त्यतापट्टि कसैको सोच गएन ।

संस्कृतका एकजना धुरन्धर कविले भनेका छन्– ‘कवि करोेति काव्यानि, रस जानन्ति पण्डिताः’ अर्थात् कविले काव्यको रचना गर्दछन्, त्यसको रस विद्वान्हरूले लिन्छन् । यो सत्य हो कि साहित्य भनेको मानवलाई असली पे्रममय रसास्वादन गराउने शास्त्रीय बाटो हो । वास्तवमा कवि र कविता भनेको आवश्यकताले जन्मन्छ । परिस्थितिले कविहरूको जन्म हुन्छ । कविले रचना गरेका कृतिले कुनै न कुनै अवस्थाको बोध गराएको हुन्छ । आफ्नो आश्रमको नजिकैको गण्डकी किनारमा बगिरहने तमोसा नदीमा नुहाउन जान लाग्दा एउटा व्याधाले सम्भोग गरिरहेका बाज–बाजिनीलाई काँणले हानेर मारेको दृश्य देखेपछि विह्वल भएर बाल्मीकि ऋषिको मुखारबिन्दबाट एउटा करुण रसमय वाक्य–

‘मा निषाद् प्रतिष्ठागमन शास्वति समाः यद्क्रौंच मिथुनादेक ममधिकाममोहितम्’ फुट्न गयो । यो नै आर्यहरूको पहिलो कविता हो । त्यसै बेलादेखि बाल्मीकि ऋषिलाई कविता लेख्ने प्रेरणा मिल्न गयो । त्यसैको परिणाम बाल्मीकि ऋषिले रामायण लेखे भनिन्छ ।

साहित्य भनेको स्तुति गान र चाकरीको बन्दना होइन । अमरकोशमा अमर बाँडाले–

‘वन्दिनः स्तुति पाठकाः’ अर्थात् बिहान सबेरैदेखि आफ्नो विचारलाई बन्दी बनाई कसैको स्तुतिगान गरेर, स्वार्थसिद्ध गरेर खानेहरू पनि छन् भन्ने हो । हिजोका हाम्रा कवि तथा साहित्यकारले चाकरी र चाप्लुसीमा सिर्जनालाई प्रयोग गरेनन् । साहित्य भनेको परिस्थितिको उपज हो ।

एउटा जमाना थियो, नेपालका कविहरूको साहित्यिक क्षेत्रबाट राष्ट्रलाई उचाल्ने सोच ।

विसं. १९९७ देखि साहित्यबाट धरणीधर कोइरालाले ‘जाग जाग अब जाग न जाग, लाग उन्नतिबिषे अब लाग, भो निंद अबता परित्याग, भो भयो अति सुत्यौ अब जाग ।’ राष्ट्रियतालाई उचाल्न चक्रपाणि चालिसे, केदारमान व्यथित, हृदयचन्द्रसिंह प्रधान, धर्मराज थापाका गीतले जागरणको काम गरेको थियो । नेपाली भाषाको व्याकरणमा गोपाल पाँडेहरूको योगदान बिर्सन सकिँदैन । नेपालीत्वको प्रभावले भारतको दार्जिलिङ, कालेम्पोङ, सिक्किम, देहरादुनमा नेपाली भाषा र साहित्यलाई नेपालीले नै लोकप्रिय बनाउने काम गरेका हुन् । दार्जिलिङ, कालेम्पोङबाट पारसमणि प्रधानलगायत धेरै स्रष्टाले नेपाली भाषा, साहित्यको लागि दिलोज्यान दिए ।

भारतमा नेपाली भाषाले राष्ट्रिय भाषाको स्थान प्राप्त गरेको छ । नेपाली भाषालाई सिक्किम राज्यको सम्पर्क भाषाको रूपमा अनिवार्य पाठ्यक्रममा घोषित गरिएको छ । तर, अहिले नेपालमा राजनीति र जातीयताको आधारमा स्रष्टाहरूको चर्चा गरिने परम्परा बस्न लागेको छ, जुन राम्रो होइन । साहित्य, कला भनेको यसको सीमा नहुने रहेछ । आफैं यो संसार हो । कहिले पनि जातीय र राजनीतिक बन्धनमा साहित्य पर्न चाहँदैन र त्यस्तो साहित्यले युगको प्रतिनिधित्व पनि गर्न सक्दैन । सिद्धिचरण श्रेष्ठका कविता पनि घटना र काण्डहरूको वेदीमा स्फुटन भएका हुन् । विसंं. १९९७ को काण्डदेखि जेलमा परेको बेलामा लेखिएको कविताले राणा शासनको निरंकुशताको इंगित गर्छ–

‘बिखालु कीट जन्मेर फैलाए रोग बेगिन्ती, स्वदेशी हुन् भनी खाली नमारौं के किरालाई ?