तीन करोडको लागतमा भैसिपालन , मासिक ५ लाख कमाई

Enepal Patra Pvt. Ltd. , ६९९  पटक हेरिएको

चित्र मिजार

सिन्धुपाल्चोक, २७ कार्तिक । वैदेशिक रोजगारीबाट फर्किएका र विदेशिन ठिक्क परेका युवा मिलेर तीन करोडभन्दा बढी लगानीमा मेलम्ची नगरपालिकामा भैंसीपालन ब्यबसाय शुरु गरेका छन । मेलम्ची नगरपालिका १० शिखरपुरका सात जना युवा मिलेर सामूहिक रुपमा इन्द्रावती पशुपालन तथा कृषिफर्म सञ्चालन गरी भैंसीपालन ब्यबसाय थालेका छन् ।
युवाले ६० वटा उन्नत जातका भैंसीपालन गरेका छन् । तीमध्ये ४७ वटा माउ भैंसी छन् । अहिले दैनिक चार सय लिटर दूध उत्पादन हुने गरेको छ । भैंसीहरु तराईका बिभिन्न स्थानबाट वातावरण अनुकूल परीक्षण गरी ल्याइएका हुन् । रोजगारीका सिलसिलामा खाडीमूलुकमा रगत पसिना बगाएर पनि सुख प्राप्ति नभई फर्केका र कमाउनकै लागि विदेश जान लागेका सात जना युवा पासपोर्ट थन्काएर भैंसीपालन गर्न थालेका हुन् ।
आफ्नै जन्मथलोमा पसिना बगाए आम्दानी गर्न सकिने भैंसीपालक कृषक सहदेव नेपाल भन्नुहुन्छ ‘भैंसीपालन ब्यबसाय अति फस्टाएको र आम्दानी दिन थालेको छ’ । अहिले सबै खर्च कटाएर मासिक पाँच लाख नाफा कमाउन सफल भएका छौ उहाँले हर्षित हुदैं भन्नुभयो “अब कुनै पनि देशमा गएर रगत पसिना बगाइँदैंन्” ।
अर्की भैंसीपालक कृषक उषा पराजुलीले पनि गाउँघरमा नै बसेर भैंसीपालन गरेर राम्रो आम्दानी हात पार्न सफल भएको बताउनुभयो । परिवारसंग घरमा नै बसेर भैंसीपालन गर्न थालेपछि आम्दानी र इज्जत नै बढन् थालेको छ उहाँले खुशी हुँदै भन्नुभयो “जे काम गरे पनि आफ्नै गाँउघरमा गर्दा उचित हुन्छ ” ।
उनीहरुले एक सय रोपनीभन्दा बढी जग्गा भाडामा लिएर भैसीपालन गरेका छन् । सो ब्यबसायबाट अन्य १० जनालाई फर्ममा रोजगारी पनि मिलेको छ । भैंसीपालनबाट निस्केका गोबर र मल ब्यबस्थापन गर्न पनि उनीहरुले अर्गानिक तरकारी खेती पनि गरेका छन् । उनीहरुले उत्पादन गरेको दूध र अर्गानिक तरकारी मेलम्ची बजार र राजधानीमा पुग्ने गरेको छ । उनीहरुले मेलम्चीमा आफ्नै दूध चिस्यान केन्द्र पनि सञ्चालन गरेका छन् । अहिले उक्त फर्म अन्य कृषकहरुको लागि अध्ययन् केन्द्र नै बनेको छ । अहिले पाडापाडी बिक्री गर्न थालेका छन् । दैनिक रुपमा अन्य किसानहरु सो फर्ममा भैंसीपालनका सीप सिक्न आउने गरेका छन् । जिल्लामा नै सो भैंसीपालन ब्यबसाय नमूना र उदारणीय बनेको छ ।
तर कृषकहरुको भैंसीपालन ब्यबसायमा मेलम्ची नगरपालिकाले केही सहयोग गरेको छैन् । नगरपालिकाले कृष क्षेत्रलाई प्रोत्साहन गर्ने नारा बनाए पनि ती कृषकहरुले अहिलेसम्म नगरपालिकाले प्राबिधिक सहयोग नगरेको गुनासो गरेका छन् । तर कृषि ज्ञान केन्द्र धुलिखेलले भने सो फर्मलाई १५ लाख अनुदान सहयोग गरेको छ । सो फर्मबाट अन्य किसानले सीप सिकेर भैंसीपालन ब्यबसाय शुरु गर्न लागेका छन् ।

प्रकाशित मिति: २०२०-११-१५ , समय : ०७:०१:२० , ३ वर्ष अगाडि