नेपाली काँग्रेस (बिपी) कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Enepal Patra Pvt. Ltd. , ५८७  पटक हेरिएको

गण्डकी, १ भदौ । देशको विद्यमान समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस (बिपी), कास्कीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि तथा बाढी र पहिरोको विपत्तिबाट भौतिक तथा मानवीय क्षति भइरहेका अवस्थामा भ्रष्टाचारलगायतका विकृति विसङ्गति बढिरहेको भन्दै पार्टीको जिल्ला कार्यसमिति कास्कीले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

सरकार मुलुकमा उत्पन्न भएको गम्भीर समस्यामा ध्यान नदिई नागरिकप्रति उत्तरदायित्व बहन गर्नुको साटो कोरोना महामारीबाट ग्रसित जनतालाई महँगी र कर वृद्धिको भार थोपर्नुमा व्यस्त रहेको सभापति चन्द्रबहादुर रानाभाटले आरोप लगाउनुभयो ।

राष्ट्रिय मुद्दामा समेत सरकार दिन प्रतिदिन गैरजिम्मेवार बन्दै गइरहेको भन्दै ज्ञापनपत्रमा पार्टीले सात बुँदे माग अघि सारेको छ । मागमा भारत तथा अन्य मुलुकबाट आउने नेपालीका निमित्त सातवटै प्रदेशमा प्रतिजग्गामा अस्थायी दश हजार मानिस बस्ने क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । महिला र पुरुषका लागि खाने, बस्ने र शौचालयलगायतको छुट्टाछुट्टै व्यवस्था हुनुपर्ने भन्दै पार्टीले उनीहरुको पिसिआर परीक्षणलगायतको सम्पूर्ण खर्च सरकारले व्यवस्थापन गर्नुपर्ने भनेको छ ।

सङ्क्रमितको उपचारका लागि अनिवार्यरूपमा सहज ढङ्गले डाक्टर, नर्सको व्यवस्थासँगै उनीहरू स्वास्थ्य सुरक्षा, सामग्रीको उपलब्धता एवं बीमाको व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ । त्यस्तै अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीका निमित्त स्वास्थ्य सुरक्षाका आवश्यक सामग्रीको व्यवस्थापनलगायतका विषयलाई ज्ञापनपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: २०२०-०८-१७ , समय : ०८:१८:०७ , ४ वर्ष अगाडि