गगन थापा कांग्रेस सभापती उठ्ने

Enepal Patra Pvt. Ltd. , ८४७  पटक हेरिएको

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन् ।
महामन्त्रीको स्वाभाविक उम्मेदवार आफू रहेकाले जोखिम मोलेर सभापतिको उम्मेदवार बन्न सक्ने उनको भनाइ छ ।

बुधबार बिहान एक रेडियोमा अन्तर्वार्ता दिँदै कांग्रेस केन्द्रीय सदस्य थापाले कांग्रेसमा अहिले नयाँ समीकरण बनिरहेको खुलासा पनि गरे ।
‘अहिलेकै पक्ष र विपक्षमा रहेको अवस्थालाई भत्काउने गरी समीकरण बनिरहेको छ, केही दिनपछि यसको रिजल्ट आउँछ,’ उनले भने ।
उनले पार्टीमा परिवर्तनका लागि आफू सभापतिको जोखिम उठाउन पनि तयार रहेको बताए । ‘यो महाधिवेशनमा म सभापति लड्न पनि सक्छु । कसैलाई सघाउन पनि सक्छु,’ थापाले भने ।
अघिल्लो महाधिवेशनमा महामन्त्री लड्दा आफूलाई उडाएको स्मरण गर्दै अहिले पनि सभापति लड्छु भन्दा सवैलाई त्यस्तै लाग्नु स्वाभाविक भएको पनि उनले बताए ।
आफू पार्टी सभापति भएमा पार्टीका सबै संरचना फेर्ने उनले बताए । आमचुनावमा पार्टीले हार बेहोरेमा नैतिकताका आधारमा राजीनामा दिने व्यवस्था गर्ने उनको भनाइ छ ।
‘पार्टी सभापतिको नेतृत्वमा चुनावमा जाँदा पार्टी पराजित भए स्वाभाविक रूपमा राजीनामा दिनुपर्छ, यसले नयाँ नेतृत्व आउन मद्दत गर्छ, यदि मेरो नेतृत्वमा २०७९ को आमचुनावमा पार्टी पराजित भए सभापतिबाट म राजीनामा दिन्छु, यसले अर्को सक्षम नेतृत्व आउन सहयोग पुग्छ,’ उनले भने ।

प्रकाशित मिति: २०२०-०७-२३ , समय : ०५:५२:१५ , ४ वर्ष अगाडि