बर्दीमा ‘टिकटक’ बनाउने मोरङ लेटाङका दुई प्रहरी छानबिनमा

Enepal Patra Pvt. Ltd. , ४३२  पटक हेरिएको

लेटाङ, ३१ असार । बर्दीमा टिकटक भिडियो बनाएपछि इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा कार्यरत दुई प्रहरीमाथि छानबिन सुरु भएको छ ।
प्रहरी पोशाकमै टिकटक बनाएर फेसबुकमा पोस्ट गरेकाले कारबाहीका लागि हवल्दार रेनुका सोनाम र जवान अशोक राईमाथि छानबिन सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
प्रहरी संगठनको आचरण र मर्यादाविपरीत गतिविधि गर्दै सोनाम र राईले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उनले बताए ।
टिकटक बनाउँदा उनीहरूले आफ्नो अगाडि टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटकी) पनि राखेका छन् । डीएसपी राईकाअनुसार उक्त टिकटक प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका विपरीत हो ।
उनीहरूले कुन गीत वा डाइलगमा टिकटक भिडियो बनाए भन्ने कुरा मोरङ प्रहरीले गोप्य राखेको छ । डीएसपी राईले दुई जना मिलेर बनाएको टिकटक फेसबुकमा उनीहरूले नै पोस्ट गरेको वा अरुले गरिदिएको हो भन्ने छानबिन भइरहेको बताए ।
निर्देशिकाअनुसार प्रहरीमा कार्यरत रहेकाले पोशाक वा प्रहरीको चिन्ह प्रयोग गरेर व्यक्तिगत रूपमा खिचेको फोटो वा भिडियो आफू स्वयंले सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति: २०२०-०७-१५ , समय : १६:३४:११ , ४ वर्ष अगाडि