मनमाया र इन्दिरालाई लेटाङ नगर खेलाडी पुरस्कार

Enepal Patra Pvt. Ltd. , १०४९  पटक हेरिएको

हरिप्रसाद कोइराला
लेटाङ(मोरङ), २७ असार । महिला फुटबल इतिहासमा नेपाली टिमलाई कीर्तिमानी जीत हासिल गराउने दुई जनामहिला फुटबलरलाई शुक्रबार लेटाङ नगरपालिकाले लेटाङ नगर राष्ट्रिय÷अन्तराष्ट्रिय खेलाडी पुरस्कार २०७६ बाट सम्मान गरेको छ ।
नगद ५० हजार रुपियाँ, दोसल्ला र प्रमाण पत्र सहितको पुरस्कार प्राप्त गर्ने खेलाडीहरूमा लेटाङ – ६ की मनमाया लिम्बू र लेटाङ–९ की इन्दिरा राई हुनुहुन्छ । लिम्बू सशस्त्र प्रहरीको महिला फुटबल टिमबाट खेल्नुहुन्छ । यस्तै राई नेपाली सेनाको महिला फुटबल टिममा आवद्ध हुनुहुन्छ । मनमाया र इन्दिरालाई लेटाङ नगरपालिकाको सातौं नगरसभाका अवसरमा पुरस्कार प्रदान गरिएको हो ।
मोरङ काङ्ग्रेसको सभापति समेत रहनु भएका संविधान सभाका सदस्य डिगबहादुर लिम्बू, नगर प्रमुख शङ्कर राई ,उप प्रमुख कृष्णकुमारी पोख्रेल ,प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहाल र जिल्ला फुटबल संघ मोरङका अध्यक्ष दीपेन्द्र धिमाल लगायतले लिम्बूलाई सम्मान गर्नुभयो ।
इन्दिरा खेल कै शिलशिलामा जिल्ला बाहिर रहनु भएकोले कार्यक्रममा सहभागि हुन सक्नु भएन । उहाँहरू दुबै जना महिला खेलाडीलाई नगरले आफ्ना चेलीका रुपमा सम्मान गरेको नगर प्रमुख शङ्कर राईले बताउनु भयो । कुनै समय फुटबलका चर्चित खेलाडी समेत रहनु भएका नगर प्रमुख शङ्कर राईले आफ्नो पृष्ठभूमि खेलकुद भएकोले खेल र खेलाडीलाई सधैं ब्यावसायिक बनाउन लागि रहने बताउनु भयो । उहाँले खेल पनि पेशाका रुपमा विकसित भइरहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०७-११ , समय : १९:०७:५४ , ४ वर्ष अगाडि