राजनीतिक तीर्थस्थल⋮ कोइराला निवास

Enepal Patra Pvt. Ltd. , ३५७  पटक हेरिएको

लीलावल्लभ घिमिरे

विराटनगर २४ असार । कोइराला निवास । यो नाम आफैंमा एउटा ऐतिहासिक छ । नेपालमा स्वतन्त्रता प्राप्तिका लागि भएका आन्दोलनमा अगुवा कोइराला परिवारको विराटनगरस्थित घर कोइराला निवास भनेर चर्चित छ ।

शहिद रंगशालाबाट केही दक्षिण रहेको कोशी अस्पतालको ठिक अगाडि पर्छ कोइराला निवास । कोसी राजमार्गको बरगाछी हँुदै दक्षिणतर्फ जाँदा बिजुली अफिस चोक पुगिन्छ । त्यहाँबाट पूर्व पुरानो डिएसपी कार्यालय, गोल्छा चोक हुँदै पूर्व गएपछि जिल्ला प्रशासन कार्यालय अघि पुगिन्छ । त्यहाँबाट केही सय मिटर दक्षिणतर्फ गएपछि कोइराला निवास रहेको स्थान पुगिन्छ । कोशी अस्पताल अगाडिबाट पश्चिमतर्फ गएको एउटा सानो कालोपत्रे सडक पार गरेपछि हरियो फलामे गेट पुगिन्छ । त्यही भित्र छ कोइराला निवास । कोसी राजमार्गकै शनिमन्दिरबाट जलजला मोड हुँदै सिधा पूर्व जाँदा पनि अस्पताल चोक पुगिन्छ । त्यहाँबाट केही उत्तरतर्फ मोडिएपछि कोइराला निवास पुगिन्छ ।

पिताजी कृष्णप्रसाद कोइरालाले १९७१ तिर बनाएको काठको संरचना, टिनको छानो र बाँसका टाटीका भित्तामा माटो लेपन गरिएको ऐतिहासिक घर अझै सुरक्षित छ । सँगै पछि बनाइएको पक्की घर जोडिएको छ। कोइरालाका तेस्रो पुस्ताका नेता डा। शेखर कोइराला विराटनगर आउँदा यहीँ बस्नुहुन्छ ।

आधुनिक नेपाली राजनीतिका महान पुरुष वीपी कोइरालाले सात सालको जनक्रान्तिमा यही घरमा बसेर सहभागी हुनभएको थियो । २०१५ को पहिलो आमनिर्वाचनमा वीपी यहीँबाट विजयी हुनुभएको थियो । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रुपमा इतिहासमा स्थापित बन्नुभएको छ ।

२०३७ को जनमत संग्र्रहमा यही घरले प्रचारप्रसारको मुख्य नेतृत्व लिएको थियो । २०४२ को सत्याग्रह, पञ्चायतको आउटपोस्ट कब्जा गर्ने नाममा गाउँ पञ्चायत र नगर पञ्चायतको निर्वाचन २०४४ मा सहभागिता, जनआन्दोलन २०४६ र दोस्रो जनआन्दोलन २०६२–६३ मा पनि कोइराला निवासको योगदान नेतृत्वदायी थियो ।

विराटनगर आउनेहरु सोधीखोजी गरेर कोइराला निवास पुग्ने गरेका छन् । कांग्रेस नेता कार्यकर्ता र अरु राजनीतिक आस्था राख्ने कतिपयले कोइराला निवासलाई राजनीतिक तीर्थस्थल पनि मान्ने गरेका छन् ।

मुलुकलाई तीनजना प्रधानमन्त्री दिएको परिवारको घर र घर देखिने गरी बसेर तस्बिर खिच्न आगन्तुक लोभिने गरेका छन् । कोइराला निवास राजनीतिक पर्यटनको प्रमुख केन्द्र त हो नै यसबाहेक साहित्यप्रेमीका लागि पनि उत्तिकै महत्वपूर्ण छ । नेपाली साहित्यमा वीपी कोइरालाको योगदान उच्च मानिन्छ ।

यही घरमा बसेर वीपीले धेरै कृति सिर्जना गर्नुभएको थियो । यही घरमा जन्मेका कृष्णप्रसादका तीन छोरा मात्रिका, वीपी र गिरिजाप्रसाद देशको प्रधानमन्त्री बनेका हुन् ।

प्रकाशित मिति: २०२०-०७-०७ , समय : १२:२९:१८ , ४ वर्ष अगाडि