प्रदेशसभामा सचेतक बीच कटाक्ष : आँखा होइन कालो कर्तुत पत्ता लगाउने मेसिन चाहियो

Enepal Patra Pvt. Ltd. , ६७९  पटक हेरिएको

विराटनगर, १७ असार । सत्तासीन नेकपाका प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र कांग्रेस सचेतक सूयर्माराज राईबीच रोस्टर्मबाट कटाक्ष भएको छ ।

सचेतक राईले सरकारको बजेट पुस्तक रातो किताबलाई ‘कालो किताब’ को संख्या दिएपछि प्रमुख सचेतक राजभण्डारीले “रातोलाई कालो देख्ने आँखामा रतन्धो लागेको भए प्रदेशसभामा आँखा जाँचको प्रबन्ध गरियोस्” भन्दै सभामुखको ध्यानाकर्षण गरेका थिए । राजभण्डारीले भने, “रातो किताबलाई कालो देखिएको हो भने आँखा ठिक अवस्थामा छ कि छैन भने संसद् भवनमा आँखा परीक्षण गर्ने व्यवस्था गरियोस् ।”

राजभण्डारीको कटाक्षलाई कांग्रेस सचेतक राईले बुधबारको बैठकको शून्य समयमा जवाफ दिएका छन् ।

राईले भने, “सरकार र मन्त्रीकै नियत कालो भएकाले कालो किताब भनेको हुँ । पैसा कमाउने र सम्पत्ति जोड्नका लागि प्राकृतिक साधनको दोहन गर्ने काम भएको छ । आँखा जाँच गर्ने मेसिन होइन कालो कर्तुत पत्ता लगाउने मेसिन चाहिएको छ ।” उनले पहाड फोरेर ढुंगागिटीको व्यवस्थापन गर्ने भन्ने सरकारको तयारी के हो स्पष्ट हुनुपर्ने बताए ।

“प्राकृतिक स्रोत साधनको अनधिकृत उत्खनन् र चुरे विनाश रोकिएको छैन । तर, मन्त्री र सांसदकै क्रसरमा लगानीमा छ भन्ने सुन्न आएको छ । यो कुरा के हो भन्ने,” राईले भने, “भौतिक पूर्वाधार विकासका लागि भनेर ढुंगागिटीका लागि पहाड फोरेर पूर्ति गर्ने भनिएको छ । सरकारले दोहन नै रोक्न नसकेको अवस्थामा पहाड फोर्ने कुरा के हो यसबारे जानकारी गराउनु पर्छ । यसले चोरी तस्करीलाई नै बढावा दिने देखिन्छ ।”

कांग्रेसका सांसद ओमप्रकाश सरागवीले झापाको भद्रपुर सहर गाउँपालिका भन्दा तलको अवस्थामा पुगेको बताए । “पहिलो भद्रपुरमा १७ जति राईस मिल थिए । साउथ भारत र कलकत्तासम्म चालम जान्थ्यो,” सरागवीले भने, “अहिले भद्रपुर मृतप्राय भयो । भद्रपुर विमानस्थलमा २०२६ तिर कच्ची रनवे थियो । चक्र बाँस्तोलाले पिच बनाउन पहल गर्नुभयो । टाउन प्लानिङ गर्ने भने पनि जमिन बच्यो । दैनिक ६ सय यात्रु आउजाउ गर्छन् भद्रपुर विमानस्थलबाट अब बंगलादेशसम्म कार्गो फ्लाइटका लागि पहल हुनुपर्छ ।”

उनले मिरपुरबाट पच्चीस मिनेट र ढाका एक घन्टामा पुग्न सकिने दृष्टान्त पेस गरे । भद्रपुरबाट कार्गो फ्लाइटको एउटा प्रारुप तयार गर्नुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरे ।

कांग्रेस सांसद लीला सुब्बा नेकपाको सरकारले एकतर्फी र एकल रुपमा मात्र काम गर्दै आएको आरोप लगाउँदै भनिन्, “राम्रो कामको समर्थन र जनविरोधी कामको आलोचना नै प्रतिपक्षीको धर्म हो । अर्थमन्त्रीको ब्रिफकेस खोस्ने वा फुटाउने काम कांग्रेसले गर्दैन ।”

प्रकाशित मिति: २०२०-०७-०१ , समय : २०:४२:४१ , ४ वर्ष अगाडि