जीवन रक्षाका लागि आयोगको आग्रह

Enepal Patra Pvt. Ltd. , ५५१  पटक हेरिएको

काठमाडौँ, १७ असार । राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत व्यक्तिको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न तथा सार्थक संवादद्वारा समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड–१९ रोकथामका लागि सरकारले लागू गरेका मापदण्डको प्रभावकारी पालना गर्न आयोग अनसनरत पक्षलाई आग्रह गर्दै अनसनरतको जीवन रक्षाको माग गरिएको छ ।

कोभिड–१९ रोकथामका लागि सरकारबाट भएका कार्यहरु प्रभावकारी हुन नसकेको भन्दै पाटन दरबार क्षेत्रमा सुजान गुरुङ्ग, सुवानी सिजापतीलगायतका व्यक्ति ६ दिनदेखि आमरण अनसनमा बसेका छन् । आयोगमा नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चितताका लागि पहल गरी पाऊँ भनी निवदेन परेको थियो ।

आयोगले अनसनस्थलमा पुगी अनसनरत व्यक्तिहरूको स्वास्थ्य अवस्था सम्बन्धमा अनुगमन गरेको छ । सो क्रममा अनसनरत सुजान गुरुङ्ग र सुवानी सिजापतीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लागिएको छ भने अर्का एक व्यक्ति छ दिनदेखि आमरण अनसनमा रहेको पाइएको छ । रिजा राउत, पुकार बम, गम्भीरजङ्ग कार्की र सुनिता तामाङ्ग रिले अनसनमा रहेको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।

प्रकाशित मिति: २०२०-०७-०१ , समय : १९:२०:०४ , ४ वर्ष अगाडि