पथरीमा आधुनिक बधशाला निर्माण अन्तिम चरणमा

Enepal Patra Pvt. Ltd. , ८१८  पटक हेरिएको

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे(मोरङ), १४ असार । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरमा आधुनिक बधशाला र दुध चिस्यान केन्द्र निर्माण गरेको छ । बधशाला नगरको १ नं. वडामा निर्माणाधीन अवस्थामा छ भने वडा नं.६ को भातेगौडामा चिस्यान केन्द्र निर्माण भइसकेको छ ।
बधशाला र दुध चिस्यान केन्द्र स्थापना भएपछि मासु उत्पादनका लागि पशुपालन गरिरहेका किसान र दूग्ध उत्पादक किसान खुसी भएका छन् । वडा नं.६ को कुटोकोदाली कृषि सहकारी संस्थाले चिस्यान केन्द्र निर्माण गरेको हो । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको १० लाख रुपियाँ अनुदान र सहकारी संस्थाको ४ लाख ६५ हजार गरी कुल १४ लाख ६५ हजारमा चिस्यान केन्द्र निर्माण गरिएको ६ नं. वडाका वडाध्यक्ष जयबहादुर तामाङले बताउनु भयो । दूग्ध उत्पादनका लागि पशुपालन गर्ने किसानले यस अघि १० किमी उत्तरको पथरीबजारमा ल्याएर चिस्यान केन्द्रमा जम्मा गर्दै आएका थिए ।चिस्यान केन्द्र  २ हजार लिटर क्षमताको रहेको छ ।

निर्देशनालय कै पशुवधस्थल निर्माण सुधार कार्यक्रम अन्तर्गत १ नम्वर वडाको पथरी बजारस्थित गोसलाइनमा वधशाला निर्माणाधीन अवस्थामा रहेको छ । प्रदेश सरकारको ५० लाख रुपियाँ र अन्य छिमेकी नगरपालिकाको साझेदारीमा कूल ७५ लाख १४ हजार ४ सय ५१ रुपियाँमा लागतमा बधशाला निर्माण गर्ने योजना बनेको थियो । तर, निर्माण कम्पनी मादी आरकेडा कन्ट्रक्सन इटहरीले ५० लाख ९३ हजार ५ सय ७९ रुपियाँमा सुविधा सम्पन्न बधशाला निर्माण गरिरहेको छ । बधस्थलमा दैनिक ठूला ५ वटा र साना १२ वटासम्म वध गर्न र प्रशोधन गर्न सकिने छ । वडा नं.१ का वडाध्यक्ष बाबुराम एङ्देनले भन्नुभयो –‘बधशालामा भित्र पशुको स्वास्थ्य परीक्षण,बध गरेपछि प्रशोधन,फ्रिजिङ गर्ने लगायतका सुबिधा हुनेछन् ।
फागुन अन्तिममा निर्माण सुरु भएको बधशाला असार मसान्त सम्ममा चालु गर्ने लक्ष्य रहेको वडाध्यक्ष एङ्देनले बताउनु भयो ।
यस अघि पथरीबजारमा खुला रुपमा खसी, बोका,सुँगुर,बंगुर,राँगा, भैंसी काट्ने गरिन्थ्यो । मासु ब्यवसायीहरू पथरी बजारमा दैनिक सुँगुर, राँगा र खसी गरी ६÷७ वटा पशु बध हुने गरेको बताउँछन् ।

प्रकाशित मिति: २०२०-०६-२८ , समय : २०:५४:३० , ४ वर्ष अगाडि