क्षयरोग र कुष्ठरोग निवारणका लागि खोज पड्ताल अभियान

Enepal Patra Pvt. Ltd. , ६५५  पटक हेरिएको

पथरीशनिश्चरे, ९ असार । मोरङको पथरीशनिश्चरे नगरमा क्षयरोग र कुष्ठरोग निवारण गर्न त्यसका विरामीहरुको खोजपड्तालका लागि १ दिने अभिमुखिकरण सम्पन्न भएको छ ।

नगर खोप समन्वय समितिद्वारा नगर अस्पतालमा आयोजित कार्यक्रममा समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षता रहेको थियो । ०७२ सालदेखि पूर्ण खोप सुनिश्चित नगर घोषणा भएकोमा यो वर्षपनि त्यसको निरन्तरताका क्रममा समिति संयोजक राई सहितका सदस्यहरुले पूर्णखोप सुनिश्चिताको घोषणा स्वरुप हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत मुलुकचन्द्र राजवंशी र विराट नेपाल मेडिकल ट्रष्टकी कार्यक्रम संयोजक पुनम विष्टले क्षय रोग र कुष्ठ रोगको खोजपड्तालमा सवैको सक्रिय सहभागिताको आवश्यकता औंल्याउँदै नगर क्षेत्रका स्वास्थ्यकर्मीका लागि सहजिकरण गर्नुभयो । हालसम्म सवैभन्दा बढी मानिसको मृत्युहुने रोग मध्ये क्षयरोग छैटौंमा रहेको उल्लेख गर्दै नेपालमा प्रतिदिन १ सय २३ जना क्षयरोगी भेटिने र १८ जनाको ज्यान जाने गरेको पनि उहाँहरुले जानकारी गराउनु भयो ।

कार्यक्रममा ६ जना खोप कार्यकर्तालाई झोला, पीपीइ, रेनकोट सहितका सामग्री प्रदान गर्नुका साथै क्षयकुष्ठ रोग निवारणका लागि योजना समेत तर्जुमा गरिएको थियो ।

प्रकाशित मिति: २०२०-०६-२३ , समय : १८:२८:५३ , ४ वर्ष अगाडि