२५ विपन्न परिवारलाई कानेपोखरी गाउँपालिकाले घर बनाई दिँदै

Enepal Patra Pvt. Ltd. , १३४६  पटक हेरिएको

हरिप्रसाद कोइराला
कानेपोखरी(मोरङ), ९ असार । मोरङको कानेपोखरी गाँउपालिकाको जनता आवास कार्यक्रम अन्तरगत वडा नं. २ का अतिविपन्न २५ परिवारले निशुल्क घर पाउने भएका छन् ।
देशमा चलिरहेको बन्दाबन्दीका वावजुद गत जेठ २२ गते विपन्न परिवारका लागि घर निर्माण अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताउनु भयो । गाउँपालिकाले लाभग्राही उपभोक्ताको सहभागितामा उपभोक्ता समिति गठन गरिदिएको छ । समिति गठन भएसँगै लाभग्राहीहरू आफ्नो घर धमाधम निर्माण गर्न लागेका छन् । घर बन्न सुरु भएसँगै अति विपन्न परिवारमा खुसी छाएको छ । बाबुराम काफ्ले ७४ वर्षको उमेरमा आफ्नै घरमा बस्न पाइनेमा ढुक्क हुनुहुन्छ । उहाँले भन्नुभयो –आकास मडारिन थालेपछि चिन्ता सुरु हुन्थ्यो । अझ हावाहुरीसँगै पानी पर्दा आभानो कतै हुन्न थियो । उहाँले १५ दिन अघिको हावाहुरीले घरको छानो उडाउँदा बुढाबुढी नै खाट मुनि बसेर ज्यान बचाएको सस्मरण गर्नुभयो । काफ्लेले पाखुरामा बल हुन्जेल खेतीपाती त गर्नुभयो । तर कमाएको कमाएको पैसाले एक टुक्रा जग्गा किन्नै नपुगेपछि घर बनाउन सक्ने कुरै भएन । ऐलानी ८ धुर जग्गामा उहाँ अहिले घर निर्माण गरिरहनु भएको छ ।
अझ ४६ वर्षीया सगिया मुसहरका पीडा सुन्दा मन अमीलो हुन्छ । आङ सिरिङ्ग हुन्छ । वर्सेनि जस्तो जन्मिएका सन्तानलाई पालन पोषण गर्न नसकेपछि उहाँको परिवार नै भारत छिर्यो । भारतमा १२ वर्ष बसेपछि नेपाल फर्कनु भएकी सगियाका तीन भाइ छोराहरू नेपाल फर्केनन् । तीन भाइ छोराले कमाएको पैसाले पनि सगियाले न जग्गा जोड्नसक्नु भयो । न नीजि घर बनाउन । सधैं भातका लागि पाखुरा चलाउनु पर्ने समस्या । खरको छानो भएको घर, वर्सेनि छाप्ने , वार्ने र लिपपोतको बन्दोवस्त नमिलाए पानी पर्दा प्लाष्टिक ओडेर बस्नु पर्ने वाध्यता ।
अहिले सगियाको घर धमाधम निर्माण भइरहेको छ । उहाँले भन्नुभयो – घर त बन्यो । अब बसेको जग्गा पनि आफ्नो नाममा भयो भने राम्रो हुने थियो ।
अखाडु मुसहर ६५ वर्षको हुनुभयो । उहाँको बाजे पनि सोही स्थानमा अधियाँ र कृषि मजदुरी गर्नुहुन्थ्यो । तर, अखाडुले अझै घामपानी छल्ने घरमा बस्न पाउनु भएको थिएन । उहाँले भन्नुभयो – हाम्रो पाँच पुस्ता यही ठाउँमा जन्मियो , हुर्कियो । बाजे पनि सुकुम्बासी , नाति पनि सुकुम्वासी । उहाँले गाउँपालिकाले घर बनाइदिने भएपछि खुसी हुँदै भन्नुभयो – अब घर बनाएको जग्गाको धनीपुर्जा पनि दियो भने मर्ने बेलामा शान्ति मिल्छ । बाबुराम , सगिया र अखाडु प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । जीवनभर घामपानी सम्म नछेल्ने घरमा बसेर गुजारा गरिरहेका कानेपोखरी २ थानटोलीका विपन्न परिवार मानो रोपेर मुरी फलाउने मौसममा घर बनाउने काममा ब्यस्त हुँदा चिन्ता प्रकट गरिरहेका छन् । तर, बन्दाबन्दीले गर्दा समयमा काम थाल्न नपाएको उनीहरू सबैलाई थाहा छ । २७ वर्षीय भूपाल मुसहरले भन्नुभयो–लकडाउनले गर्दा काम ढिलो सुरु भयो ।
कानेपोखरी गाउँपालिकाले हेविटेट र सहारा नेपालको सहयोगमा २५ परिवारलाई घर निर्माण गर्न सुरु गरेको जनता आवास कार्यक्रमका सचिव एवं सहजकर्ता तारा ओझाले बताउनु भयो । ओझाका अनुसार निर्माणमा प्रतिघर १ लाख ७५ हजार रुपियाँ खर्च हुनेछ । जसमध्ये सहयोगी संस्थाले १ लाख र गाउँपालिकाले ७५ हजार रुपियाँ ब्योहोर्ने छ । घरमा १० फिट लम्बाई र १० फिट चौडाईका दुई वटा कोठा र १० फिट लम्बाई र ६ फुट चौडाईको एउटा कोठा बरण्डामा रहने छ । जस्ताको छाना सहितको घर निर्माण भएपछि असार २५ गते गाउँपालिकाले घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०६-२३ , समय : ०८:४१:०८ , ४ वर्ष अगाडि