५० लाखमा साकेला भवन बन्ने

Enepal Patra Pvt. Ltd. , २६४९  पटक हेरिएको

कानेपोखरी,२२ जेठ । प्रदेश नं. १ को प्रदेश सभामा नेपाली कांग्रेसका सचेतक एवं प्रदेश सभा सदस्य सुयर्माराज राई र प्रदेश सभा सदस्य शेखरचन्द्र थापाले बिहीबार संयुक्त रुपमा साकेला भवनको शिलान्यास गर्नु भएको छ ।
मोरङको कानेपोखरी–७, कानेपोखरी बजारमा राई र थापाले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो । १ नं. प्रदेशको उद्योग,वन तथा पर्यटन मन्त्रालयको ५० लाख रुपैयाँ अनुदान सहयोगमा सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो । किरात राई जातिले २०४२÷४३ साल देखि आफ्नो परम्परागत पूजाआजा गर्दै आएको सो क्षेत्रलाई किरात राई यायोक्खाले २०५१ मा धार्मिक वनका रुपमा दर्ता गरी संरक्षण गर्दै आएको थियो । साकेला भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकाजी राईले भन्नुभयो – यो वन देश मै पहिलो पटक धार्मिक वनका रुपमा दर्ता भएको हो । तर, दर्ता भएर पनि संरक्षण हुन सकेन । पछिल्लो समय आफै लागेर संरक्षण गरिरहेको राईले बताउनु भयो ।
१ हजार ९३२ स्क्वाएर फुटको भवनमा शौचालय र पूर्व तर्फ फर्किएको मञ्च समेत निर्माण हुनेछ । १ नं. प्रदेशको उद्योग,वन तथा पर्यटन मन्त्रालयको सांस्कृतिक केन्द्रहरू संरक्षण अन्तरगत बन्ने साकेला भवनले कानेपोखरीलाई थप उचाई प्रदान गर्ने आशा गरिएको छ ।
शिलान्यास कार्यक्रममा दुई जना प्रदेश सांसदको सहभागिता भए पनि औपचारिक कार्यक्रम भने भएन । अनौपचारिक रुपमा बोल्दै प्रदेश सासंद सुयर्माराज राईले धर्म , संस्कृति र भाषाको संरक्षण हुन सके मात्र जातीय पहिचान जिवित रहने बताउनु भयो । अनौपचारिक कार्यक्रममा किरात समूदायका अगुवाहरू नन्दकिसोर, बुद्धिराज,टंक राई डेनि राई धनकुमार राई पारस राई , अर्जुन राई,फूलमाया राई ,मीनराज राई, दशु राई , समीर राई लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२०-०६-०४ , समय : २०:५६:२० , ४ वर्ष अगाडि