सुयर्मा गर्जिए , फरार सांसद कसरी प्रदेश सभामा छिरे ?

Enepal Patra Pvt. Ltd. , ५८०  पटक हेरिएको

माेरङ, १६ जेठ । नेपाली कांग्रेस प्रदेश एकले नेकपाकी फरार सांसद गुलेफुन खातुन प्रदेशसभा बैठकमा उपस्थित भएको विषयमा आपत्ति जनाएको छ।

बिहीबार प्रदेशसभाको शून्य समयमा बोल्दै कांग्रेस प्रदेशसभाका सचेतक सूयर्माराज राईले अदालतले दोषी ठहराएको व्यक्ति गरिमायम संसद बैठकमा उपस्थित हुँदा लज्जा महशुस भएको बताए।

सभामुखको ध्यानाकर्षण गराउँदै राईले दोषी करार गरिएकी सांसद बैठकमा उपस्थित भएको विषय सोचनीय रहेको बताए। यसअघि प्रतिपक्षी दलले फरार सांसदको विषय उठान गरेपनि यथेष्ठ जानकारी आउन नसकेकोमा प्रतिपक्षी दल कांग्रेसको आपत्ति रहँदै आएको छ। सांसदहरुलाई छल्ने कार्य नगर्न माग गर्दै सचेतक राईले भने, ‘नेकपा सरकार हुँदा सबै कुरामा छुट हुन्छ भन्नेतर्फ सबैको सोच जान थालेको छ।’

बैठकमा कांग्रेसले रुकुम घटनाको दोषीमाथि कडा कारबाहीकाे मागसमेत गरेको छ। दलितमाथि गरिएको अमानवीय घटनाको छानविन गर्न समिति बनाइरहन आवश्यक नरहेको कांग्रेसको अडान छ।विभत्स घटनाबारे नेकपा नेता जनार्दन शर्माको टिप्पणीप्रति आपत्ति जनाउँदै सचेतक राईले भने, ‘घटनाको विषयमा छानविन समिति भन्दापनि दोषीलाई फौजदारी अभियोगमा कारबाही गरिनुपर्छ।’

को हुन् फरार सांसद?

सत्तारुढ दल नेकपा प्रदेश एककी सांसद गुलेफुन खातुन बुधबार सम्पन्न प्रदेशसभाको छैटो तथा बजेट अधिवेशनको पहिलो बैठकमा उपस्थित भइन्। जिल्ला अदालत मोरङले गरेको फैसला सदर गर्दै उच्च अदालत विराटनगरले पनि कैद सजायको फैसला सुनाएपनि खातुन २०७६ पुसदेखि फरार रहँदै आएकी छन्।

तथापि उनी प्रदेशसभाको बैठकमा उपस्थित भएको विषयलाई लिएर सदनमा गर्मागर्मी चलेको छ। फरार खातुन बैठक सकेर निस्किँदासमेत सुरक्षा निकाय बेखबर बनेको थियो। प्रदेशको विभिन्न २२ वटा बैठकमा अनुपस्थित रहेकी सांसद खातुन यसपटक भने १५ मिनेट जति बैठकमा बसेकी थिइन्।

प्रदेश एक संसद सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार सांसद खातुनलाई दोषी ठहर गरेको कुनै आधिकारिक जानकारी अदालतबाट संसदमा नआएको र सम्बन्धित दलले पनि प्रमाणित नगरेका कारण उनको संसद पद यथावत रहेको हो। अदालतबाट आधिकारिक पत्र नआएसम्म खातुनलाई निलम्बन गर्न सक्ने कानुनी आधार संसदमा नहुने उनको भनाइ छ।

उनी तत्कालिन नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी हुन्। मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाकी खातुनले २०७४ माघ ७ गते प्रदेश एकको प्रदेशसभा सदस्यको शपथ लिएकी थिइन्। तर खातुनलाई सांसद बन्नुभन्दा आठ महिना अघिनै अदालतले फौजदारी कसुरमा दोषी ठहर गरेको थियो।

घटना

२०६३ माघ २४ मा निधन भएका ससुरा शेख धाइका मियाँको नाममा रहेको मोहीयानी हक हस्तान्तरणमा खातुनले चलखेल गरेकी थिइन्।माेरङको तत्कालिन कदमाहा गाविसमा मधुसूदनराज पाण्डेको कित्ता नम्बर १०६, २५५ र सीता जोशी पाण्डेको कित्ता नम्बर ११० भएको तीन बिघा १० कट्ठा जग्गा नामसारी गर्न उनले अन्य दुई कर्मचारी प्रयोग गर्दै गाविसको लेटर प्याड, छाप र बिदामा रहेका सचिवको हस्ताक्षर किर्ते गरेकी थिइन्।

०७१ माघ २१ र ०७१ चैत ४ गते अलगअलग मितिमा किर्ते सिफारिस बनाएर जग्गा आफ्नो नाममा नामसारी गर्न उनले भूमिसुधार कार्यालयमा निवेदन दिएकी थिइन्।

कागजात किर्ते गरेको खुलेपछि ०७३ जेठ २६ गते उनीहरूविरुद्ध गाविसले जाहेरी दिएको थियो। प्रहरीले पतिसहित खातुनलाई ०७३ असार ४ गते पक्राउ गरेर २५ दिन हिरासतमा राखी अनुसन्धान गरेको थियो। त्यसपछि जिल्ला अदालतले उनीहरूलाई असार २९ गते जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

त्यसैगरि अदालतले पनि २०७४ वैशाख ३१ गते खातुन र उनका पतिलाई जनही एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

अर्कोतर्फ, खातुनले ०७४ भदौ १९ गते मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार उच्च अदालत विराटनगरमा निवेदन दिएकी थिइन्। उच्चले गत पुस ६ गते शेख शिलबरलाई सफाइ दियो। तर खातुनसहित अन्य तीनजनालाई कैदतर्फ जिल्लाकै फैसलालाई सदर गर्दै उच्चले जनही १४ हजार पाँच सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनायो।

यसक्रममा खातुनले ११ महिना पाँच दिन जेलमा बस्नु पर्ने उच्च अदालतले जनाएको छ।  देश सञ्चारबाट

प्रकाशित मिति: २०२०-०५-२९ , समय : १२:०१:५० , ४ वर्ष अगाडि