अतिक्रमित भूमिमा नेबिसंघकाे प्रदर्शन, सिमामा फहरायो राष्ट्रिय झण्डा

Enepal Patra Pvt. Ltd. , ८९१  पटक हेरिएको

फिदिम, ४ जेठ। भारतले हस्तक्षेप गरेको सिमाक्षेत्रमा पुगेर नेपाल बिद्यार्थी संघ (नेबिसंघ) ले नेपालको राष्ट्रिय झण्डा फहराएको छ । फालेलुङ गाँउपालिका ६ स्थित आहालमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कोे हस्तक्षेप बिरुद्ध विद्यार्थीहरुले बिरोध प्रदर्शन गर्दै झण्डा गाडेका हुन् ।

प्रतिकुल मौसमको बाबजुद नेपाल बिद्यार्थी संघले भारतले हस्तक्षेप भूमि आहालमा पुगरेर बिरोध प्रदर्शन गरेको हो । नेविसंघ पाँचथरले आयोजना गरेको बिरोध कार्यक्रममा पाँचथरका ३० जना युवाहरु सीमाक्षेत्र पुगेका थिए । इलाम नेविसंघका नेता प्रज्वल भट्टराइको नेतृत्वमा इलामका युवाहरु उक्त क्षेत्रमा पुगेका थिए । दुई जिल्लाका विद्यार्थीहरुको बिरोध प्रदर्शनमा सीमाक्षेत्रका स्थानीयहरु पनि सहभागि भएर एसएसबीको हस्तक्षेप बिरुद्ध नाराबाजी गरे ।

प्रदर्शसनपछि विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाए । बिद्यार्थीहरुले करिब दुई घण्टा भारत सरकाबिरुद्ध नाराबाजी गर्दै अतिक्रमित क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदशर्नमा रहेका विद्यार्थीहरुले भारतसामू नेपाल सरकार लाचार बनेको समेत आरोप लगाए । उनीहरुले कुनैपनि हालतमा नेपाली भूमि गुम्न नदिने उद्घोष गरे ।

पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको पश्चिम बंगालसँग सिमाना जोडिएको नेपालको आहालमा पर्यटकीय संग्राहलय निर्माणको काम सुरु गरेपछि एसएसबीले हस्तक्षेप गरेको थियो । डिभिजन बन कार्यालय पाँचथरको १० लाख रुपैँयाको आर्थिक लगानीमा सन्दकपुर आहाल चौरीपालक कबुलियति वन समूहले संग्रालय निर्माणको काम सुरु गरेको थियो । संग्रालय निर्माण सुरु गरिएको ठाँउ भारतको पर्ने भन्दै एसएबीले काममा अवरोध गरेको हो । एसएसबीको हस्तक्षेपपछि बद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

‘भारतले सिमाक्षेत्रमा अतिक्रमण गर्दा पनि सरकार मौन बनेपछि हामी अतिक्रमित क्षेत्रमै पुगेर प्रदर्शनमा उत्रिएका हौ,’ नेबिसंघ पाँचथरका अध्यक्ष तुलसी आचार्यले भने ‘आफ्नो भूमि फिर्ता लिन नेपाल सरकारले तत्काल कुटनितिक पहल गर्नुपर्छ ।’ बिद्यार्थीहरुले अतिक्रमित भूमि फिर्ता गराउन जिल्ला प्रशासन मौन बसेकोप्रति आपक्ति समेत जनाएका छन् ।

‘सरकारी संयन्त्र अहलेसम्म मौन छ,’ नेविसंघ पाँचथरका उपाध्यक्ष धनकुमार लावतीले भने ‘सरकारी संयन्त्र निदाएर बसेकाले नेविसंघले आन्दोलन सुरु गर्नुपरेको हो ।’ सिमाक्षेत्रमा भारतको हस्तक्षेप नरोकिएसम्म आफ्नो आन्दोलन नरोकिने उनीहरुको भनाई छ ।

गलत समाचारप्रति दुःख व्यक्त

अतिक्रमित क्षेत्रमा बिरोध प्रदर्शन गरेर फर्केपछि विभिन्न सञ्चार माध्यममले गलत समाचार सम्प्रेषण गरेको भन्दै नेबिसंघले दुःख व्यक्त गरेको छ । अतिक्रमिति क्षेत्रमा गाडेको झण्डा एसएसबीले कब्जा गरेको समाचारलाई भ्रामक भन्दै नेविसंघले दुःख व्यक्त गरेको हो ‘दुई दिनको कठिन यात्रापछि अतिक्रमित क्षेत्रमा पुगेर हामीले विरोध प्रदर्शन गरेका हौँ,’ नेविसंघ पाँचथरका सहसचिव नबिन बुढाथोकीले भने ‘सदरमुकाम फिदिम आइपुग्दा गलत समाचारले बजार तताएको रहेछ । एसएसबीले झण्डा कब्जा गरेकै छैन ।’

अतिक्रमित भूमिमा विद्यार्थीले गाडेको राष्ट्रि झण्डा एसएसबीले कब्जा नगरेको उनीहरुले जनाएका छन् । ‘हामीबाट जानकारी नै नलिई गलत समाचार सम्प्रेषण  भयो,’ अर्का सहसचिव सुजन ओझाले भने ‘हामीलाई सम्पर्क नै नगरी गलत समाचार सम्प्रेषण गरेकोप्रति हामीलाई दुःख लागेको छ ।’

 

प्रकाशित मिति: २०२०-०५-१८ , समय : ०९:०२:०५ , ४ वर्ष अगाडि