लकडाउन लम्ब्याउने सरकारकाे तयारी

Enepal Patra Pvt. Ltd. , ४०१  पटक हेरिएको

काठमाडौं ,२४ बैशाख। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिको सिफारिस अनुसार सरकारले आज बुधवार लकडाउनको अवधी थप्ने सम्भावना छ । गत चैत ११ गते देखि सुरु भएको लकडाउन ७ देखि १० दिनका लागि थप्ने सम्भावना छ ।  मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले बैठकपछि सञ्चारकर्मीमाझ भनेका थिए– सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको छ । यसबारे थप निर्णय भोलि अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने छ । चैत ११ गतेदेखि सुरु भएको देशब्यापी लकडाउनको पछिल्लो म्याद भोली बैशाख २५ गते सकिँदै छ । लकडाउनकै कारण कोरोना संक्रमण नियन्त्रणमा आएको नेपालगञ्जको पछिल्लो घटनाले पुष्टि गरेको छ । पछिल्ला एक दुई घटनाले लकडाउनलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकारलाई अन्योल बनाएको छ ।

यसअघि कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको  अस्ति सोमबार बसेको बैठकले काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो नपार्न र पहाडी इलाकामा खुकुलो बनाउन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको थियो । देशका सबै जिल्लाहरुलाई जोखिमपूर्ण (रेड), कम जोखिमपूर्ण (यल्लो) र न्यून जोखिमपूर्ण (ग्रिन) गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सीमा जोडिएका तथा कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरुलाई जोखिमपूर्ण भागमा राख्ने निर्णय गर्दै काठमाडौँमा लकडाउन खुकुलो नपारिने निर्णय भएको हो ।

भारतसँग सीमा जोडिएका र तराईका जिल्लाहरुमा पनि  लकडाउन पूर्वरुपमै कायम राख्न पनि समितिले मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । तर हिजो प्रधानमन्त्री निवास बालुवाटारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा कोरोना संक्रमण बढिरहेको र हुनुपर्ने परीक्षण पनि नभइनसकेकाले अहिले नै जोखिममुक्त भइयो भनेर नठान्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

विश्वमा कोरोना संक्रमितबाट मर्नेहरुको संख्या बढ्दै गएको छ । हिजोसम्म मर्नेको संख्या २ लाख ५७ हजार ९५७ पुगेको छ भने संक्रमण ३७ लाख २३ हजार ४४७ जनामा देखिएको छ । अमेरिकामा २४ घण्टाभित्र २ हजार ३०१ को मृत्यु भएको थियो । अमेरिकामा कोरोना भाइरसबाट ३ महिनामा मर्नेको संख्या ७२ हजार नाघेको छ । इटाली, स्पेन, बेलायतमा मर्नेको संख्या घट्दै गएको छ । इटालीमा २३६, स्पेनमा १८५, फ्रान्समा ३३० र बेलायतमा ६९३ हिजो मात्र निधन भएको थियो । नेपालको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १९४ जना व्यक्ति मरेका छन् भने नयाँ कोरोना संक्रमित ३ हजार ८७५ थपिएका छन् ।

अहिलेसम्म भारतमा कोरोनाबाट १६९३ व्यक्तिको निधन भैसकेको छ । भारतको राजधानी दिल्लीका सरकारी, गैरसरकारी कार्यालयहरु अस्ति सोमवारदेखि खोलिएका छन् । महाराष्ट्र, गुजरात, तमिलनाडु र पश्चिम बंगालमा संक्रमितको संख्या तेज गतीले बढिरहेको छ । तमिलनाडु र पंजाबमा संक्रमणको गती राष्ट्रिय औसतभन्दा बढी छ । तमिलनाडु में संक्रमण दर १४.३ प्रतिशत छ भने पंजाबमा १७.७७ प्रतिशत छ । तरुण खबरबाट

प्रकाशित मिति: २०२०-०५-०६ , समय : १२:५९:३३ , ४ वर्ष अगाडि